www.tandavnews.com
Fact ~ In search of truth

चितवनःनदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चितवन ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । माडी क्षेत्रको वनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दबस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

Batas

यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका– २९ लगायतका पहाडी भूभागमा भूक्षय र पहिराकोसमेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलद्वारा जारी सूचनामा जनाइएको छ । वाढी आएको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने जस्ता जोखिमयुक्त कार्य नगर्न नगराउन सबैमा अनुरोध गरिएको छ । सूचनामा भनिएको छ ‘जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिनसम्म विभिन्न स्थानमा मेघगर्जनसहित निरन्तर वर्षाको सम्भावना रहेकाले नदीमा पानीको सतह खतरा तहसम्म पुग्न गई बाढी, नदी कटान डुवानको उच्च जोखिम रहेको छ ।’ नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित स्थानमा रहन वा जानसमेत प्रशासनले सम्बन्धित सबैमा अपिल गरेको छ ।

यसैबीच निरन्तरताको वर्षाका कारण माडीका १६८ घर डुवानमा परेका छन् । जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार माडी नगरपालिका–१, ३, ४, ६ र ७ का ती घर डुवानमा परेका हुन । उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका–१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नं ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ । अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ ।

निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी भरतपुर सवारी आवागमन रोकिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.