www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका ६६ घर उच्च जोखिममा

बागलुङ ।

बागलुङमा पछिल्लो दुई महिनाका अवधिमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् ।

बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन भन्दा बढी घरपरिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन् । काठेखोला ,बडीगाड र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको छ ।

Batas

पहिरामा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । मानवीय क्षति हुने सम्भावना बढेपछि जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । बाढीपहिराबाट यस अवधिमा डेढ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

यही असारको पहिलो साता नै बागलुङ नगरपालिका–७ पैराबारीमा घरमाथिबाट झरेको पहिराले एक घर भत्काएको थियो भने एक घर उच्च जोखिममा पारेको थियो । पहिराका कारण स्थानीयवासी रविलाल गौतमको घर गोठ भत्काएको थियो भने गोठमा रहेको भैसी पुरिएर मरेको छ ।

सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेपछि परिवार विस्थापित भएको जनाइएको छ । वर्षातका कारण बागलुङ –४का नन्दलाल पौडेलको घर भत्केको र सोही स्थानका प्रदीप शेरचनको दुईतले पक्की घर, माया जिसीको कच्ची घर पहिरोका कारण उच्च जोखिममा परेपछि विस्थापित भएको थियो ।

बागलुङ–१३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरको अगाडि र पछाडिबाट पहिरो झरेपछि घर उच्च जोखिममा परेको थियो । बरेङ गाउँपालिका–१ भ्यूडाँडाका विशाल विकको घर पनि जोखिममा परेपछि उनको परिवार पनि विस्थापित बनेको छ ।

त्यसैगरी गलकोट –४ चमुवाकी स्थानीयबासी चन्द्रकला क्षेत्रीको घर पछाडिबाट पहिरो झरेपछि दुई तले कच्ची घर उच्च जोखिम परेको छ । घर जोखिममा परेपछि उनको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । गलकोटकै डाँडाखेतमा पनि पहिरोले स्थानीय देवबहादुर खत्रीको घर उच्च जोखिममा परेपछि उनको परिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाइ छ ।

जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । अविरल वर्षाको कारण जैमिनी –७ जैदीका आठ घर र काठेखोला– ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोको कारण तीन घरपरिवारले आफन्तकहाँ आश्रय लिएका छन् भने अन्य अन्य पाँच घरका व्यक्ति भने बसाइँ नै सरेको बताइएको छ ।

पहिराको कारण कालिदास शर्मा, लेखनाथ शर्मा र दीपक शर्माको परिवार आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन् । असारको पहिलो साता नै काठेखोला–७ रेशमा सडकमाथिबाट आएको पहिराका कारण तीन घर विस्थापित भएका छन् । रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तर्गत जिरेदीको कालिका मन्दिरदेखि गगनपानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडकमाथि र सडकमुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा पनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिराले स्थानीयबासी मीनबहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकोले सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिकाको धुल्लुबाँस्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

धुल्लुबाँस्कोटको भीउँ डाँडामा तीन घर, लुगरुङमा चार घर, थापाथरमा तीन घरगोठ, उर्लेनिमा तीन घर र धुल्लुबाँस्कोट मिलन चोकमा एक घर पहिरोको उच्च जोखिममा छ । वडा नं २ को हुग्दीशिरमा तीन घर र वडा नं ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै काठेखोला–८ लेखानीमा पनि नौ घर पहिरोको उच्च जोखिममा परेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.