www.tandavnews.com
Fact ~ In search of truth

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काठमाडौं ।

कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ ।

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छुट दिइएको होे ।

Batas

अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छुट दिइएको जनाएको हो । ‘वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजको प्रस्थानका समयमा नै अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निःशुल्क प्रवेशाज्ञा नियमित हुनेछ’, सूचनामा भनिएको छ ।

प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक तीन अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा दैनिक पाँच डलर जरिवानाबापत शुल्क लाग्छ ।

विभागको सूचनाअनुसार नेपालमा आफ्नो बसाईं थप गर्नका लागि असार २५ गतेदेखि आवेदन गर्ने र आगामी साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ ।

प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक प्रवेशाज्ञा वर्षमा पर्यटकले १५० दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निषेधाज्ञाको अवधि गणना नगर्ने साविककै सूचनाअनुसार बस्न पाउने अवधि २१० दिन कायम गरिएको छ ।

पछिल्लो पटक असार २१ को मन्त्रिपरिषद् बैठकले सबै अन्तरराष्ट्रिय उडान खुलाउने निर्णय लिएको थियो । आजदेखि विभिन्न गन्तव्यमा सातामा ५३ उडान खुला भएका छन् । अधिकांश देशमा नियमितरुपमा उडान शुरु भए पनि अझै केही देशमा उडान शुरु हुन सकेको छैन । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.