www.tandavnews.com
Fact ~ In search of truth

आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती, जन्मथलोमै उपेक्षित भानुभक्त

तनहुँ ।

आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् ।

तर आफ्नै जन्मथलोमा भानुभक्त उपेक्षित छन् । भानु जयन्तीको अवसरमा उनको जन्मथलोमा खास विशेष कार्यक्रम हुँदैन । सामान्य कार्यक्रम गरेरै भानुजयन्ती मनाइँदै आएको छ । विगत वर्षदेखि त भानु जन्मस्थल विकास समिति नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

Batas

भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यीक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकोमा स्थानीयवासी खुशी छैनन् । भानुजयन्तीको दिन औपचारिकता निभाउने बाहेक यस ठाउँमा अन्य कुनै कार्यक्रम आयोजना भएका छैनन् ।

भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ । सरकारले भानु जन्मस्थलको विकासका लागि विसं २०५२ मा भानु जन्मस्थल विकास समिति गठन गरे पनि सरकार परिवर्तनसँगै समितिको नेतृत्व पनि परिवर्तन नहुँदा देखिनेगरी काम हुन नसकेको स्थानीयवासी रिदम आचार्यले बताए। नजिकैको तीर्थ हेला भने झै भानुभक्तको जन्मथलो उपेक्षामा परेको उनको गुनासो छ । ‘अहिले त अझ जन्मस्थल समितिविहीन अवस्थामा पुगेको छ, देश तथा विदेशमा भानुभक्तको चर्चा छ, तर आफ्नै जन्मथलोमा उपेक्षा बाहेक अरु केही छैन’, उनले भने ।

साहित्यिक पर्यटकीय विकासको सम्भावना बोकेको भानुभक्तको जन्मस्थललाई राजनीतिबाट टाढा राख्न सक्नुपर्ने स्थानीयवासी एवं भानु जन्मस्थल विकास समितिका पूर्व अध्यक्ष श्रीभक्त आचार्यले बताए ।

‘एउटा सरकार हुँदा गरेको निर्णय अर्को सरकार आएपछि प्रभावित हुन्छ, त्यही कारण आजसम्म यस ठाउँको विकास हुन सकेको छैन’, उनले भने । भानु जन्मस्थल विकास समितिका पूर्व कार्यकारी निर्देशक शंकर रानाभाटले गत वर्षदेखि जन्मस्थल विकास समितिलाई कुनै पनि बजेट विनियोजन नभएको जानकारी दिए ।

‘पहिला संघीय सरकार मातहत रहेको जन्मस्थल गत वर्षदेखि स्थानीय सरकार मातहत राखियो, त्यसभन्दा अगाडि आउने बजेट पनि कर्मचारीलाई तलब खुवाउन मात्रै ठिक्क हुन्थ्यो, अहिले त झन् बजेट नै छैन,’ उनले भने । उनले शुरुमा जति महत्वका साथ समिति गठन गरिएको थियो सरकारले चासो नदिएपछि समितिले काम गर्न नसकेको बताए । ‘बजेट अभावले नै केही काम गर्न सकिएन, आएको थोरै बजेट कर्मचारीको तलब भत्तामै सकिन्छ, कर्मचारीले तलबबापतको ४५ लाख अझै पाएका छैनन्’, उनले भने । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.