www.tandavnews.com
Fact ~ In search of truth

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचोः गृहमन्त्री खाँण

काठमाडौं ।

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गरेका छन् ।

उनलाई मन्त्रालयमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत अभिवादन गरेका थिए।

Batas

पद बहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले हामीले आफ्नो जीवनमा कोभिड–१९ को सबैभन्दा ठूलो महामारी सामाना गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो औँल्याए ।

उनले भने, ‘कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम्भीरतापूवर्क आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी छ । कोभिड–१९ को महामारीका क्रममा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी अग्रभागमा रहेर ठूलो भूमिका निर्वाह भइरहेको छ ।’

कोभिड–१९ प्रतिकार्यमा खटिने जुनसुकै नागरिककोे जीवनरक्षा गर्नु सरकारको दायित्व रहेको बताउँदै गृहमन्त्री खाँणले भने, ‘महामारीका लागि समन्वयका साथ समुचित व्यवस्थापन गर्नुपर्छ, आवश्यक ठाउँमा सरकारकाले बजेट व्यवस्थापन र खर्च तथा उपचार गर्न प्रतिबद्ध छ ।‘

उनले संवैधानिक व्यवस्थाअनुरुप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गरी बनेका कानूनहरुलाई कार्यान्वयन गर्ने भूमिकामा सम्बद्ध निकायले सक्रियताका साथ मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो चाहना रहेको बताए ।

नवनियुक्त गृहमन्त्री खाँणले पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका थिए । मुलुकका ७७ जिल्लाका विपद् व्यवस्थापन कोषमा आवश्यकताअनुसार रकम रहने गर्छ । सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हाल एक अर्ब पाँच करोड छ ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट क्षतिको विवरण र मापदण्डअनुसार पीडितलाई रकम उपलब्ध गराइँदै आएको छ । विपद्मा परेका जनतालाई अप्ठेरो परेका बेला सरकार पीडितको साथमा छ र सहयोग गर्न तत्पर छ भन्ने सन्देश दिन तत्काल राहतस्वरुप यो कोषबाट सहयोग प्रदान गरिन्छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.