www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला अदालत मनाङमा एक वर्षमा १२ वटा मुद्दा दर्ता

मनाङ ।

हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् ।

जिल्ला अदालतले दिएको तथ्यांक अनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा छ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको अदालतका स्रेस्तेदार तारादत्त बडुले बताए । उनले भने, ‘हिमाली जिल्ला मनाङमा अत्यन्त कम मात्रामा मुद्दा दर्ता हुन्छ । आव २०७७÷०७८ मा १२ वटा मुद्दा दर्ता भएको छ । यसमध्ये पनि सबैभन्दा धेरै छ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् । छ वटामध्ये चार वटा फैसला भइसकेको छ, भने दुई वटा फैसला हुन बाँकी छ ।’

Batas

जिल्लामा सोबाहेक जबर्जस्ती करणी, बहुविवाह, कुटपिट, ज्यान मार्ने, सवारी दुर्घटना र अभद्र व्यवहारका घटना एक÷एक वटा दर्ता भएका छन् । जिल्लामा कूल १२ वटा मुद्दामध्ये आठ वटा फैसला भइसकेको र चार वटा बाँकी रहेको स्रेस्तेदार बडु बताउछन् ।

आर्थिक वर्ष २०७६/०७७ मा भन्दा यस वर्ष मुद्दा दर्ताको घटना बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७६/०७७ मा जिल्लाभर नौ वटा मुद्दा दर्ता भएको थियो । मुलुकका विभिन्न जिल्लामा मुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ ।

मनाङ सानो र थोरै जनसङ्ख्या भएको जिल्ला भएकाले पनि यहाँ घटेका घटनालाई गाउँघरमा नै मिलाउन सहज भएको हुनुपर्छ । यहाँका समुदाय फरक नभई एउटै किसिमका भएकाले पनि उनीहरुबीच न्यायोचित ढङ्गले मेलमिलाप हुने स्रेस्तेदार बडुको भनाइ छ ।

उनी भन्छन्, ‘मनाङ सानो र थोरै जनसङ्ख्या भएको जिल्ला हो । यहाँ घटेका घटनालाई गाउँघरमा नै सहज तवरबाट मिलाइन्छ । यहाँ अधिकांश एउटै समुदायका मानिसको बसोबास छ, यस कारणले गर्दा पनि घटना नघट्ने र घटिहाले पनि एकापसमा न्यायोचित ढङ्गले मेलमिलाप हुने गरेको पाइएको छ ।’ रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.