www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी: हालसम्म बाढी पहिरोबाट ८३ घर भत्किए, ७३ जोखिममा

म्याग्दी।

यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् । पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई तीन लाख राहत उपलब्ध गराएको छ ।

Batas

पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए । पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगङ्गाको बेग, बेनीको सिंगा तातोपानी, मङ्गलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ ।

गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली संघ मोनाले ४० वटा घर बनाएको छ । सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर पाँच लाखका दरले अनुदान दिने निर्णय गरेको थियो । निर्णयानुसार आवश्यक बजेट व्यवस्थापन नगर्दा सबै पहिरो पीडितले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन् ।

वैशाख अन्तिम साता रु एक करोड आठ लाख ९७ हजार ५०० पठाएको गृहमन्त्रालयले असारमा थप ३६ लाख ३२ हजार ५०० पठाएको थियो । मोनाले बनाएका बाहेकका घरका लागि १० करोड बजेट माग गरिएको थियो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यविधि भए पनि सङ्घ र प्रदेशले बजेट नपठाएकाले पुनःनिर्माण प्रभावित भएको स्थानीय तहका पदाधिकारीले बताएका छन् । धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगङ्गाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.