www.tandavnews.com
Fact ~ In search of truth

यसवर्ष देवघाटमा बोलबम मेला नहुने

तनहुँ ।

हरेक वर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ ।

कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको संगमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिए । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका कारण मेला नगर्ने निर्णय भएको उनले बताए ।

Batas

समितिले आयोजकको रुपमा बोलबम मेला नगरे पनि स्वास्थ्य मापदण्डको पालना गरेर स्नान गर्न आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै स्नान गर्न भने दिन सकिने घिमिरेले बताए । ‘कोरोनाको जोखिम कायमै छ, तीर्थालु नआइदिए राम्रो हुन्छ, तर श्रद्धा र भक्तिका कारण पनि भक्तजन देवघाट आउनुहुन्छ,’ उनले भने, ‘भक्तजन आएको खण्डमा केही व्यवस्था त गर्नैपर्छ ।’ घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।

साथै शान्तिसुरक्षाका लागि तीन वटै जिल्लाका सुरक्षा निकायलाई पनि जानकारी गराइएको उनले बताए । समितिले गतवर्ष कोरोना जोखिमका कारण बोलबम मेला आयोजना गरेन । तर स्नान गर्न आउने भक्तजनको संख्या उल्लेख्य रह्यो । ‘अन्तिम सोमबार अलि धेरै भक्तजनको भीड हुन्छ, स्नान गर्न आउनेलाई दूरी कायम गर्नुहोस् भनेर सचेतना जगाउँछौ,’ उनले भने ।

देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । हरेक सोमबार बोलबम मेला लाग्ने भए पनि साउन महिनाभर देवघाट मेलामय हुने गथ्र्यो । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।

मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.