www.tandavnews.com
Fact ~ In search of truth

खोप नलगाई काममा फर्कन मानेन् सौराहाका पर्यटन मजदूर

चितवन ।

तीन महिनापछि आंशिकरुपमा खुलेका सौराहाका होटलका मजदूरले काम शुरुआत गर्नुअघि कोरोना बिरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा दुई हजार ५०० हाराहारी मजदूर कार्यरत छन् ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेर गत असार अन्तिम साताबाट क्षमताको ३३ प्रतिशत मात्र पाहुना राख्न दिएपछि अधिकांश होटल सञ्चालनमा आएका छन् । होटलमा न्यून मात्र मजदूर रहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले खोप नलगाई काम गर्न मजदूरले नमानेको जानकारी दिए ।

Batas

उनका अनुसार हाल त्यहाँ दैनिक ६०-६५ पाहुना आउन थालेका छन् । ती पाहुनालाई होटलले सामान्य व्यवस्थापन मात्र गर्दै आएको छ । होटल कुर्न बसेका थोरै मजदूरले होटल सञ्चालन गरिरहेका छन् । त्यही बसेका मजदूर र घरमा रहेका दुवैको माग खोप रहेको छ । उनका अनुसार मजदूरलाई खोप लगाइदिन जिल्ला प्रशासन कार्यालयमा संस्थागतरुपमा निवेदनसमेत दिइएको छ ।

स्थानीय प्रशासनले आंशिकरुपमा सञ्चालन हुने भएकाले त्यही सङ्ख्याका लागि मात्र खोपको माग गर्न भनेपछि ६०० जना मजदूरका लागि पहिलो चरणमा खोप लगाइदिन अनुरोध गरिएको उनले जानकारी दिए । उनले भने, ‘अग्रभागमा रहेर काम गर्नेलाई मात्र खोप लगाइदिन सके धेरै सुरक्षित हुन्छ ।’

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले प्रत्यक्षरुपमा पाहुनासँग काम गर्ने मजदूरलाई खोप नलगाई काममा लगाउन कठिन हुने बताए । प्राथमिकताका आधारमा आंशिकरुपमा पहिलो चरणमा खोप लगाइदिन सकेमा होटल सञ्चालनमा सहज हुने उनको भनाइ छ ।

आइतबार मात्र आफ्नो होटल जङ्गल सफारी लजमा पाँच वटा कोठामा पाहुना भएको जनाउँदै उनले ती पाहुनासँग प्रत्यक्ष काम गर्नेलाई खोप लगाउन सकेमा सुरक्षित हुने बताए ।

संघका महासचिव गुणराज थपलियाले होटल सञ्चालनमा आउन थालेको जनाउँदै मजदूरलाई खोप लगाएर सुरक्षित बनाउनुपर्ने बताए । उनले भने, ‘हामीले कोभिड– १९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ । मजदूरलाई सुरक्षित गराएर होटल सञ्चालन गर्नुप¥यो ।’

वाग्मती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर संघले खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । सो क्षेत्रका १२० होटलमा दुई हजार ५०० श्यया सञ्चालनमा छन् । हाल कोभिडसँगै चितवन राष्ट्रिय निकुञ्जले सामुदायिक वन र निकुञ्जभित्र पर्यटकले गर्ने गतिविधि रोकिइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले केही दिनभित्र नै सामुदायिक वनमा गरिने गतिविधिलाई अनुमति दिइने तयारी गरिएको बताए ।

सामुदायिक वनमा हात्ती सफारी, सामुदायिक वन र निकुञ्जमा जीप सफारी, दुवै ठाउँमा जङ्गल वाक, डुङ्गा सफारीलगायत गतिविधिका लागि निकुञ्जले अनुमति दिनु पर्दछ । वर्षात्का समयमा निकुञ्जभित्र हुने गतिविधि रोक्ने गरिन्छ । बाहिरको भने सधैँ खुला हुने गर्दछ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.