www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद् निर्णय : सिन्धुपाल्चोक र मनाङ संकटग्रस्त क्षेत्र घोषणा, ६ गते सार्वजनिक बिदा

काठमाडौँ ।

सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ ।

उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Batas

मित्र राष्ट्रलाई धन्यवाद, खोप उपलब्ध गराउन आग्रह

बैठकले कोरोना विरुद्धको खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ । कोरोना विरुद्धको लडाइँमा नेपाललाई विभिन्न मित्र राष्ट्रले स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएका छन् ।

त्यसैगरी, सरकारले खोप उत्पादक देशलाई अनुदान वा खरिदमार्फत कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । चीन सरकारले नेपालाई दुई चरणमा गरेर १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । यस्तै, थप परिमाण भने सरकारले खरिद गरेको छ । भारतबाट नेपाली सेनालाई गरी ११ लाख मात्रा खोप अनुदानमा प्राप्त भएको छ । अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० मात्रा खोप उपलब्ध गराएको छ । ती देशबाट प्राप्त खोप निरन्तर लगाइ राखिएको छ ।

साउन ६ गते सार्वजनिक बिदा

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘बकर इद’ को अवसरमा यही साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीले आफूहरुको महत्वपूर्ण पर्वको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए । सोही मागका आधारमा सरकारले बिदा दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । सरकारले भारतमा साताको तीन उडान गर्ने निर्णय गरेको छ । कोरोनाका कारण नियमित उडान तालिका यसअघि तलमाथि भएको थियो । हाल भारतमा साताको दुई उडान भइरहेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि थप उडान हुनेछ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.