www.tandavnews.com
Fact ~ In search of truth

… अनि बाँदर बनाइन्छन् दासहरु

– दिपक के श्रेष्ठ

हिजो राजधानीको सिमसिमे पानीमा एक्कासी बाँदरका हुल देखा परे । त्यो पनि कालो, ढेडु बाँदर । बाँदरहरु जसरी उफ्रने पाफ्रने गरी बटुवालाई तमाशा देखाइरहेका थिए त्यसरी नै तमाशेहरु रमाइरहेका थिए । मुहार र पुच्छरमात्रै बाँदर भएपनि उनीहरु मान्छे थिए, अझ भनौ मान्छेजस्तै थिए । तर मुहारसँगै स्वभाव बाँदरको भएपछि रमितेहरु भ्रममा परे, उनीहरु बाँदर हुन् कि मान्छे भनेर । सडकमा हुल बाँधेर देखिएका ती बाँदरहरु मान्छे नै थिए । विज्ञान भन्छ मान्छेका पूर्खा बाँदर हुन् । उसले आनीबानी, स्वभाव परिवर्तन गर्दै आफुलाई मान्छेमा विकसित गरेको हो । यसअर्थमा बाँदर मान्छे बन्यो । तर समयको चक्र उल्टो घुमे झैं हिजो मान्छे पुनः बाँदर बन्यो ।

रामायणको पाना पल्टाउने हो भने बाँदरको कम्ता योगदान छैन । भगवान मानिएका रामले पत्नी सीतालाई लंकाबाट छुटाउन जाँदा बिचमा समुन्द्र बाधक बन्यो । वानर गणसहित पुगेका रामले समुन्द्र सुकाउन धनुबाँण चलाउन खोज्दा समुन्द्रले गणमा भएको दुई बाँदर नल र नीललाई प्रयोग गरी पुल बनाउन सकिने बताए । सोही अनुरुप वानर गणको सहायतामा राम लंका पुगे । लंकामा त्यसपछि के भयो, त्यतापट्टि नजाउँ ।

Batas

निवर्तमान प्रधानमन्त्री घर झगडाले सोत्तर भएर बालकोट पुगेपछि सम्भवतः रामायणको वानर गणजस्तै भएर आफ्नो पुच्छरहरुले माधव नेपाल र प्रचण्डको लंका जलाउँदै शेरबहादुर देउवालाई खरानी बनाउँछन् भन्ने हेतुले सडकमा बाँदर उतारेको हुनुपर्छ । योजना र हतियार त्यही भएपनि सडकमा उतारिएका बाँदरबीच नल र नील थिएनन् । त्यसमाथि स्वयं केपी ओली रामजस्तै मर्यादापालक पनि थिएनन् । उनी मर्यादापालक हुन्थे भने बाँदरहरु लंका दहन गर्ने वानर गण हुन्थे तर उनीहरु केवल ढेडु बने ।

अघिल्लो दिन माधव नेपालको पुत्लालाई लाश बनाई दहन गरेर सडकमा ओर्लिएका बाँदरहरु सामाजिक सञ्जालमा आलोचनाको पुलिन्दा देखेपछि अहिले ढेडु भएको महशुस गरिरहेका होलान् । राष्ट्रिय युवा संघ नेपाल नाम दिइएको संगठन वास्तवमै यति अधोगतिमा अन्ट न सन्टको प्रदर्शनमा उत्रिएको यो पहिलो पटक हो । उनीहरु फगत कार्यकर्ताको शैलीमा आफ्नै मुहारलाई ढेडु बनाएर उत्रिँदा नेपाली राजनीतिले अब युवालाई पनि अविश्वास गर्नुपर्ने भएको छ । युवाहरुलाई पार्टीको सिपाही बन्न छुट छ तर दास बन्न कदापि पाइँदैन । उनीहरु दास बन्दा समयको अगाडी बदनाम भएका छन् । हिजोको प्रदर्शन हेर्दा उनीहरु ‘पोलिटिकल मेटेरियल’ हुँदै होइनन् ।

युवा मुख्यतः सोंच र अध्ययनले चल्छन् वा चल्नुपर्छ । राजनीतिमा विकसित घटनाक्रम, अन्तर्राष्ट्रिय प्रयोग, राष्ट्रिय विषयवस्तु शैक्षिक ज्ञान र त्यसको उचित प्रयोगले दलीय संस्कारको विकास भई राजनीति सङ्लो हुन्छ । युवा कार्यकर्ता सङ्लो पानीको मुहान बन्नुपर्नेमा आफै धमिलिँदा वा धमिल्याइँदा राजनीतिमा वितृष्णा जाग्नु स्वभाविक हो । हिजोको तमाशाले युवा झनै दास बनाइएका र उनीहरुलाई नेतृत्व तहमा पु¥याउन नचाहने पार्टीका नाइकेहरुको स्वार्थसमेत छताछुल्ल भएको स्वीकार्न करै लाग्छ । ‘रेलिङ भाँच्ने’ आन्दोलनलाई बिट मारेका कार्यकर्ताहरुले अब रचनात्मक प्रदर्शन गर्छन् भन्ने आँकलन भइरहेकाबेला बाँदर बनेकाहरुले आफ्नै स्तरबाहेक केही देखाएनन् । माधव समूहलाई बाँदर देखाउन प्रयोग गरिएको हतियार बुम¥याङ भई आफैलाई ढेडु बनाएको उनीहरुले सम्भवतः अझै चाल पाएका छैनन् ।

राजनीतिक डिस्कोर्स कहिल्यै सरल रेखामा बग्न सकेन । नेताहरु केवल बक्ररेखा खिच्नमा व्यस्त रहेको आरोप लगाइयो । उनीहरुलाई आरोप लगाउँदा भोलीका नेता भनि मैदानमा चिनिएकाहरु उल्टै बक्ररेखामा रमाउन माहिर देखिए । यद्यपि, मैदानमा जस, अपजसको जिम्मेवारी नाइकेले लिनुपर्छ । कार्यकर्तालाई झरीमा उतारेर बाँदर बनाई उनीहरुको बेइज्जत गर्ने नाइकेलाई ती बाँदरहरुले प्रश्न गर्लान् कि नगर्लान् । प्रश्न सोधियो भने नाइकेले कूतर्कमार्फत ‘बाँदरे प्रदर्शन’ सहि भएको जवाफ फर्काएपछि बाँदरहरुले पुनः प्रश्न गर्ने हिम्मत गर्लान् कि फेरि बाँदरकैरुपमा आफुलाई प्रस्तुत गर्लान् । कहिले साइबर सेना, कहिले अरिंगाल, कहिले मलामी त कहिले बाँदर बनेकाहरुले आफ्नो परिचय खोज्लान् कि नखोज्लान् ।

अन्त्यमा, यो लेख लेखिरहँदा नेपालगञ्जमा माध्यमिकतहमा अध्ययनरत हुँदाका क्षण सम्झिए । त्यतिबेला टिफिन टाइममा सडक छेउ चटकेले डमरु बजाएर लिखुरे बाँदरलाई नचाउँदै, पैसा बटुल्दै हिड्थ्यो । चटकेको इशारामा बाँदर नाच्थ्यो, नाचिरहन्थ्यो । र, चटकेको खल्ती भरिन्थ्यो । हिजो पनि उस्तै शैलीमा चटकेले बाँदर नचायो । के मानवरुपी बाँदरले चटकेको तालमा ताल मिलाउनै पर्छ र ?

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.