www.tandavnews.com
Fact ~ In search of truth

मेलका रुखमा नास्पाती फलेपछि …..

डोटी ।

मेलका रुखमा नास्पाती फल्न थालेको कुरा सुन्दा पनि अचम्म लाग्ला तर जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँमा यस्तै वस्तुस्थिति देखिन्छ । सानागाउँमा केही वर्ष पहिले कलमी गरेको मेलका रुखमा लटरम्म नास्पाती फल्न थालेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

अहिले कलमी गरिएका रुखमा फलेका नास्पातीका दाना हेर्न लायकका बनेका छन् । दश वर्ष पहिले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा नास्पातीको हाँगा जोडी कलमी गरेकोे थियो ।

Batas

पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भने, ‘केही काम नलाग्ने मेलका रुख काटेर किसानले फाल्ने गरेका थिए, कृषि कार्यालयको सहयोगमा कलमी गरी नास्पाती लगाएपछि अहिले फलेर लटरम्म भएको छ, किसान खुशी भएका छन् ।’ खाना पकाउने दाउरासमेत नहुने उक्त रुखलाई केही वर्ष पहिले यहाँका किसानले जरैदेखि उखेलेर फाल्ने गरेका थिए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख यज्ञराज जोशीको पहलमा उक्त क्षेत्रमा मेलका रुखमा कलमी गरी नास्पाती लगाइएको थियो । यसरी नास्पाती फल्न थालकाले त्यहाँका किसानको आयआर्जनमा निकै वृद्धि हुने अपेक्षा गरिएको छ ।

बिनाकामका खेर गएका रुखलाई योजनामा कलमी गरी नास्पाती बनाइएको थियो,अहिले मेहेनतको फल फल्न शुरु भएको छ, अब किसानका आयआर्जन बढ्ने आशा गरिएको सुदूरपश्चिम कृषि निर्देशनालयले जनाएको छ ।

अहिले अन्य वडाका किसानले पनि भएका मेलमा रुखमा कलमी गरी नास्पातीका बिरुवा लगाइदिन आग्रह गर्दै आएको उक्त निर्देशनालयले जनाएको छ । सानागाउँमा फलेका नास्पाती बिक्रीवितरणका लागि केही दिनमै यहाँका साझघाट, दिपायल, राजपुर, सिलगढी तथा पिपल्ला बजारमा लैजाने तयारी भइरहेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउदले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.