www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी सरकारद्धारा प्रदेश प्रहरीलाई एउटा बस र चारवटा पिकअप भ्यान प्रदान

पोखरा ।

गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई एउटा बस र चारवटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा आयोजित कार्यक्रममा गाडीका चाबी हस्तान्तरण गरे ।

प्रदेशको शान्ति सुरक्षा चुस्त पार्न र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने अभियान अन्तर्गत प्रदेश सरकारले गाडी प्रदान गरेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरलले सरकारको सफलता र असफलताको पहिलो शर्त नै शान्ति सुरक्षा र सुशासन रहेको बताए । उनले भने, ‘यी दुई कुरामा सरकार निर्भर छ, यदि शान्ति सुरक्षा र सुशासन दिन सक्यौं भने समृद्धि प्राप्ति हुन्छ ।’ यसका लागि प्रहरीले चुस्त दुरुस्त सेवा प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।

Batas

प्रहरीको काँधमा ठूलो जिम्मेवारी रहे पनि त्यस अनुसारको स्रोत साधन उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै प्रदेश सरकार यसमा सम्वेदनशील रहेको मुख्यमन्त्री पोखरेलले बताए । आफ्नो क्षमता अनुसार प्रदेशले प्रहरीलाई सहयोग गर्दै आएको र यसलाई निरन्तरन्ता दिने उनले जनाए । प्रहरी जति गतिशील रह्यो, उति नै शान्ति सुरक्षा महसुस हुने भएकाले गतिविधि बढाउन पनि उनले आग्रह गरे ।

प्रमुख सचिव डा. दामोदर रेग्मीले कर्मचारी र सुरक्षाकर्मीले प्रवाह गर्ने सेवामा सरकारको सफलता निर्भर हुने भएकाले त्यसै अनुसार अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘राजनीतिक संयन्त्रको सफलता कर्मचारीमा निर्भर हुन्छ ।’ सुरक्षा संयन्त्रका लागि बजेट कम भयो भन्ने गुनासोको सम्बोधन गर्दै उनले यसबारेमा आफूले अर्थमन्त्रालयसँग समन्वय गर्ने बताए ।

कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव केदारनाथ शर्माले प्रहरीका भवन बनाउन, सवारी साधन उपलब्ध गराउन, खाट लगायत आवश्यक सामग्रीका लागि सरकारले लगानी गर्दै आएको बताए । प्रदेश प्रहरी तालिम केन्द्र, प्रहरी अस्पताल निर्माणका लागि रकम उपलब्ध गराएको उनले जानकारी गराए ।

प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीले अपुग दरबन्दी, सिमित स्रोत साधनबीच पनि प्रहरीले कार्यसम्पादन गर्दै आएको बताए । प्रदेशभर ७ हजार ४ सय ९४ दरबन्दी भए पनि ५ हजार ७ सय जना कार्यरत रहेको जानकारी उनले गराए । प्रहरीको तल्लो तहका युनिटका लागि भवन, गाडी लगायत अन्य सामग्रीको अभाव रहेको उनले सुनाए । पछिल्लो समयमा अपराधको प्रकृति फेरिएको भन्दै त्यसै अनुसार स्मार्ट पुलिसिङ अवधारणा अनुसार काम गर्न थालिएको उनको भनाइ थियो । प्रदेश सरकारले प्रदान गरेका गाडी आवश्यकता अनुसार जिल्लामा पठाइने उनले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.