www.tandavnews.com
Fact ~ In search of truth

अण्डाको मूल्य हालसम्मकै उच्च : गति लिदै पोल्ट्री व्यवसाय

चितवन ।

कोरोना संक्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।

गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शुन्य भएकामा क्रमशःबढ्दै गएर प्रतिवटा ७० पुगेको छ ।

Batas

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ । उनले भने, ‘निषेधाज्ञाका समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौँ ।’ गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उनको भनाइ छ । ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा ५६ पर्दछ । एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उनले जानकारी दिए ।

लेयर्स चल्ला भने पु¥याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन । लेयर्स प्रतिवटा १७० मा बिक्री भइरहेको छ । देशभरमा ३४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उनको भनाइ छ । नेपाल पोल्ट्री महासंघका उपाध्यक्षसमेत रहेका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउछन् । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासाही बन्दै जानसक्ने उनको चिन्ता छ ।

आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३८५ र मिडियम प्रतिक्रेट ३५५ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पु¥याउन कठिन भएको बताए । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो संख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए । निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट रु ३३० सम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट ३६० हाराहारी पर्ने उनको भनाइ छ । बजारको मागअनुसार दररेट बढाइएको उाले जानकारी दिए।

कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । उनले भने, ‘अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ ।’ पहिराले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पु¥याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको उनले बताए ।

दुई हजार ७०० हाराहारी पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएको उनी बताउछन् । अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् । पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो ५० पर्ने भटमास १०५ सम्म पुगेको र २२ हाराहारीमा पाउने मकै ३७ सम्म पुगेको बताउछन । उनले भने, ‘दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन ।’ कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्री गर्न कठिन भएको र काममा जोखिम मोल्नुपरेको निवर्तमान अध्यक्ष पोख्रेलको गुनासो छ ।

महँगोमा चल्ला राख्नुपर्दा लागत मूल्य बढी हुने उनी बताउछन् । निषेधाज्ञाका समयमा कुखुराको मासुले मूल्य नपाउँदा धेरैले नोक्सानी बेहोर्नु परेको छ । दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेर फर्कनुभएका गैँडाकोटका सम्भव पाण्डे निषेधाज्ञामा आफूले पालेका ३२ हजार ब्रोइलर कुखुराबाट २६ लाख नोक्सान भएको बताउछन् । उनले नवलपरासीको बेल्डीया र गैँडाकोटमा कुखुरा पालेका थिए । त्यतिबेला प्रतिवटा १०० हाराहारीमा खरीद गरेको चल्लाबाट उत्पादन भएपछि बिक्री गर्दा प्रतिकिलो १५० मा बेच्नु परेको उनको भनाइ छ ।

चितवन–नवलपुर दाना वितरक सङ्घका अध्यक्ष तेजनारायण पाण्डे ब्रोइलर कुखुराको किसानको लागत मूल्य २२० सम्म पर्ने भए पनि निषेधाज्ञाभर सस्तोमा बेच्नुपर्दा धेरै नोक्सान भएको बताउछन् । क्रमशः मूल्य बढ्दै गएको उनको भनाइ छ । कोभिड घट्दै गएपछि किसानले राहत महसुस गरेको उनले बताए । उनका अनुसार अहिले कुखुराको मासुको मूल्य ३८० प्रतिकिलो पुगेको छ । नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् ।

लेयर्स कुखुरापालनमा अग्रणी दाउन्ने ट्रेडर्सका कार्यकारी निर्देशक विनोद पोख्रेल कच्चापदार्थको मूल्य दिनानुदिन बढ्दा र कोभिड जस्ता महामारीका समयमा यो व्यवसाय सञ्चालन कठिन हुने बताउछन् । देशभर अण्डाको सञ्जाल रहेको दाउन्नेका कार्यकारी निर्देशक पोख्रेल सरकारले कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर हेर्नुपर्ने बताए। दाउन्नेको नवलपारसीको फार्ममा हाल तीन लाख लेयर्स कुखुरा रहेका छन् । देशमा नै सबैभन्दा बढी लेयर्स कुखुरा भएको यो एक मात्र फार्म रहेको उनीहरुको भनाइ छ ।

उनले भने, ‘कोभिडका समयमा किसानले बेहोरेको नोक्सानलाई सरकारले सम्बोधन गर्नुपर्छ ।’ कच्चापदार्थ बाहिर आश्रित भएसम्म किसानले लाभ लिन कठिन हुने जनाइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.