www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको समुद्घाटन

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएका छन ।

नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएको बताए। उनले यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रर्वद्धनमार्फत आर्थिक लाभ लिन सकिने बताए ।

Batas

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताए । एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रर्वद्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्णस्थलका रुपमा सिन्धुलीगढी रहेको बताए।

उनले सिन्धुलीगढीमा युद्ध संग्रहालय स्थापना गौरवपूर्ण इतिहास जोगाउने महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग बताए । सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने उनले बताए ।

सांसद गणेशकुमार पहाडीले ऐतिहासिकस्थल संरक्षणका लागि १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीयस्थलका रुपमा अङ्ग्रेजहरुको पनि गन्तव्यस्थल हुन सक्ने बताए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताए । उनले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको बताए

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले पनि नवननिर्मित युद्ध सङ्ग्रहालयलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गरिने प्रतिबद्धता जनाए ।

सो अवसरमा प्रधानसेनापति थापाले नगर प्रमुख खत्रीलाई संग्रहालय हस्तान्तरण गरे। विसं १८२४ असोजमा अङ्ग्रेजसँग भएको युद्धको सम्झनामा सो सङ्ग्रहालय निर्माण गरिएका हो ।

संग्रहालयमा त्यतिबेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्तावेज सङ्ग्रह गरिएको छ । युद्धमा सहभागी भएका झण्डै दुई हजार ४०० अङ्ग्रेज फौजमध्ये करिब एक हजार ६०० को मृत्यु भएको बताइन्छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.