www.tandavnews.com
Fact ~ In search of truth

सङ्क्रमण उच्च भएपछि झापाका दश पालिका सिल गरियाे

झापा ।

कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलबन्दीको निर्णय गर्नसक्ने बताए । “जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न थालिएको हो”, प्रजिअ तिम्सिनाले भने, “सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।”

Batas

सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।

झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । बजार र सरकारी कार्यालयहरुमा सर्वसाधारणको घुइँचो बढेको थियो । हरेक पालिकाले सात दिनको अवधि तोकेर सिलबन्दीको घोषणा गरेका छन् । राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्ति आफैँ सचेत हुनुपर्नेमा लापरवाही गरिरहेका कारण सङ्क्रमितको दर बढ्दै गएको पालिकाहरुको ठहर छ । सामान्य स्वास्थ्य मापदण्डसमेत पालना नगरी सर्वसाधारणहरु बिनाकाम घुम्ने गरेको पाइएपछि सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम र माइकिङ गरेर सचेतना अपनाउन आग्रह गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन् ।

जिल्लामा सबैभन्दा पहिले बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा सिलबन्दी घोषणा गरेको थियो । त्यसपछि आइतबार, सोमबार र बुधबारदेखि थप पालिकामा सिलबन्दी गरिएका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा झापामा २६६ कोरोना सङ्क्रमित थपिएका छन् । पालिकाहरु सिल गरिए पनि पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा भने रोक नलगाइएको प्रअिज तिम्सिनाले बताए ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.