www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा बढ्दो ग्राफ : ‘अलर्ट’ रहन निर्देशनालयको सुझाव, तीजमा होटल/पार्टी प्यालेस पुग्दै प्रशासन

जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशमा दिन प्रतिदिन कोरोना भाईरस संक्रमितको संख्या थपिँदै जाँदा सरोकारवालाहरु भने पर्ख र हेरको अवस्थामा छन् । संक्रमणसँगै मृत्युदर नघटे वा अत्याधिक भए निषेधाज्ञामा थप कडाई गर्ने मनशायमा प्रशासन छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दै गएको स्वीकार्दै सतर्क रहन सुझाएको छ । ‘संक्रमित हुने र निको हुने क्रम मात्र रहेमा एकखालको नीति छ, क्षति बढ्न थाल्यो भने अर्को खालको नीति छ’ गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. खिम खड्काले ताण्डव न्यूजसंग भने ‘निषेधाज्ञा खुकुलो हुँदै गएपछि संक्रमितको संख्या पनि बढेकोले सबैजना सचेत हुन आवस्यक छ ।’ तर संक्रमणको जोखिमकै कारण फेरिपनि लकडाउन गर्ने भनेर कुनै सोच नरहेको उनले बताए ।

Batas

गण्डकी प्रदेशका जिल्लाहरुमा अहिले नयाँ भेरियण्टबारे कुनै परिक्षण नभएको बताउँदै उनले भने ‘अहिलेसम्म नयाँ भेरियण्टको परिक्षण गरेका त छैनौँ, तर पोखरा जस्तो मानिसहरुको बढि मुभमेन्ट हुने ठाउँमा नयाँ भेरियण्ट नहोला भन्न सकिन्न ।”

डा.खड्काले प्रदेशमा रहेका खोप लिन योग्य १५ लाख नागरिकमध्ये ५ लाखलाई खोप लगाईसकिएको र निरन्तर खोप अभियान चलिरहेको बताए । नयाँ भेरियण्टले बालबालिकाहरुलाई पनि असर गर्ने सक्ने तर्फ सचेत रहँदै अस्पतालहरुमा आईसियु, अक्सिजन लगायतको तयारी बढाईएको उनको भनाई छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम पनि तत्काल लकडाउन कडा पार्ने प्रशासनको कुनै तयारी नभएको बताउँछन् । उनी भन्छन्‘पहिले एकजनालाई मात्र संक्रमण देखिँदा लकडाउन गर्ने अवस्थामा थियौँ, तर आज सबैजना यसलाई आत्मसाथ गरेर अघि बढ्ने सोँचमा पुगेका छन’, उनले भने ‘लकडाउन झन् खुकुलो बनाउन माग आईरहेको छ बढाउने तर्फ कसैको सोच छैन।’ निषेधाज्ञाका सर्तहरु पालनाबारे अनुगमन फितलो छ नि ? भन्ने ताण्डव न्यूजको प्रश्नमा प्रजिअ गौतमले भने, ‘सबैका पछि लौरो लिएर लाग्न सकिँदैन अब सैबजना आफ्नो सुरक्षाका लागि सचेत हुनुपर्छ ।’ नजिकिएको महिलाहरुको महान पर्व हरितालिका तीजमा भने पोखराका होटल तथा पार्टी प्यालेसमा अनुगमन बढाईने गौतमले बताए ।

व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ पनि कोरोनाको संक्रमणले पटक पटक बन्द हुँदा व्यवासाय नै धरापमा परेकाले राज्यले खोपको व्यवस्था गरेर व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने एक सुत्रीय मागका साथ अघि बढेको छ । ‘अब सुरक्षित भएर व्यवसायलाई निरन्तरता दिनुको विकल्प छैन’ पोउवा संघका अध्यक्ष नारायण कोईरालाले भने ‘प्रोटोकल पालना गरेर व्यवसाय गर्न देउ नै भनेका छौँ, संक्रमण भनेर सँधै डराएर पनि भएन नि, कसरी मिनिमाईज गर्ने भन्ने कुरामा राज्य लाग्नुपर्छ ।’ आफूहरुले सरकारसंग खोपको माग गरिरहेको भन्दै अध्यक्ष कोईरालाले खोप लगाउँदैमा कोरोना संक्रमण हुँदैन भन्ने नभएपनि जटिलता कम हुने भएकाले खोप अनिवार्य भएको बताए ।

गण्डकी प्रदेशमा पछिल्लो केहिदिन यता संक्रमणको दर उकालो लाग्न थालेको छ । प्रदेशमा मंगलबार पनि संक्रमण दर बढेको छ । मंगलबार देशभर २४ घण्टामा ३ हजार ८ सय ९९ संक्रमित थपिए । त्यसमध्ये गण्डकी प्रदेशमा ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पनि संक्रमणको दर बढेर ६२५ पुगेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.