www.tandavnews.com
Fact ~ In search of truth

भरिदैँ पोखराका सरकारी ‘कोभिड बेड’

जीवन सुवेदी/ताण्डव न्यूज

पोखराका कोरोना विशेष अस्पतालहरुमा विरामीहरुको संख्यामा कमि आउन सकेको छैन । संक्रमित भई अस्पताल भर्ना हुनेको संख्यामा कमि नआएको अस्पतालहरुले जनाएका छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा बढि विरामी हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छन् । कोभिडका लागि ८० बेड क्षमता रहेको उक्त अस्पतालमा अहिले ८ वटा मात्र बेड खाली छन् । अस्पतालका निर्देशक डा भरत खत्रीले भने, “७६ जना थिए आज डिस्चार्ज भएपछि ७२ जना बाँकी छन् ।” असारको अन्तिम हप्ता संक्रमित भर्ना हुने संख्यामा केही कमि आएपनि साउन लागेपछि दिनहुँ संक्रमित र भर्ना हुने दरमा कमि नआएको डा. खत्रीले बताए । “दैनिक विरामीको संख्या ७० भन्दा माथि नै छ, घटेको पटक्कै छैन” उनले भने “ मृत्यु दरमा भने केहि कमि आएको छ ।” पहिले दैनिक ६/७ जना सम्मको मृत्यु हुने गरेकोमा हाल दैनिक सरदर २/३ जनाको उपचारकै क्रममा मृत्यु हुने गरेको उनको भनाई थियो ।

Batas

पोखराको लेखनाथस्थित गण्डकी प्रदेश सरकार मातहतको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि विरामीको संख्यामा कमि आउन सकेको छैन । ५० बेड क्षमताको उक्त अस्पतालमा हाल ४९ जना विरामी छन् । अस्पतालमा थप विरामी भर्ना लिन सक्ने अवस्था नरहेको अस्पतालका प्रमुख डा. विकास गौचनले बताए ।

“विरामी भर्ना लिएर मात्र भएन अक्सिजनदेखि सबै व्यवस्था मिलाउनुपर्छ”, उनले भने “भएका सबै बेडमा समेत अक्सिजनको पाईपलाईन नहुँदा कठिनाई भएको छ” ।

डा गौचनले पनि असारको दोश्रो र तेश्रो हप्तामा भर्नाहुने संक्रमितको संख्या केहि घटेपनि चौथो हप्तापछि फेरि बढ्न थालेको बताए । उनका अनुसार अस्पताल भर्ना हुनेमध्ये ८४ प्रतिशत निको भएका छन् भने २ प्रतिशतको मृत्यु भएको छ । बाँकी १६ प्रतिशत विरामीहरु भने स्वेच्छा वा रिफर भएर अन्य अस्पतालमा पठाईएको डा. गौचनले बताए । हाल खोप लगाएकाहरुले कोरोना संक्रमणप्रति वेवास्ता गरिरहेको भन्दै उनले खोप लगाएकाहरुले पनि सुरक्षा मापदण्ड अपनाउन र सुरक्षित हुन उनले अनुरोध गरेका छन् । खोप लगाएकाहरुले पनि संक्रमण भएर उपचार गराइरहको डा. गौचनले बताए ।

त्यस्तै पोखरा महानगरपालिकाले सञ्चालन गरेको महानगर स्तरीय कोरोना विशेष अस्पताल सिसुवामा पनि विरामीको संख्या बढेको अस्पतालका प्रमुख प्रतिभा कोईरालाले जानकारी दिईन् । ४८ बेड क्षमताको उक्त अस्पतालमा हाल २१ जना विरामी उपचाररत रहेका छन् । “साउन पहिलो हप्तासम्म १२÷१५ जना मात्र विरामी थिए गएको हप्तादेखि संख्या बढ्न थालेको छ” उनले भनिन्, “भर्ना हुने विरामी मध्ये यूवाहरुको संख्या धेरै छ ।” तर अस्पतालमा अक्सिजनको भने कुनै समस्या नभएको उनले बताईन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.