www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ बजारका एक दर्जन घर जोखिममा

खेमराज गौतम
गलकोट/रासस

बागलुङ बजारको अदालत चौपारी, कम्पुटोल र नारायण चोकका एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा परेका छन् ।

बागलुङ नगरपालिका–३ कैलाम पोखरीको वन हुँदै अदालत चौपारीसम्म पुग्ने सडकखण्ड पहिराले बगाएकाले २० दिनदेखि बन्द छ । तलबाट पहिरो खस्दै गएकाले सडकका साथै बजार छेउकै दर्जनभन्दा बढी घर जोखिममा परेको त्यहाँका बासिन्दा बताउछन् ।

Batas

निरन्तरको वर्षा र बस्तीमुनिको बगालुङ नगर खानेपानी लिफ्ट आयोजना निर्माणाकै अवस्थामा रहेकाले निरन्तर सडक भासिने र पहिरो जाने गरेको स्थानीयवासी पुष्पा केसीले बताइन् । बागलुङ नगर खानेपानी उपभोक्ता संस्था र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त लगानीमा तीन वर्षदेखि निर्माण भइरहेको सो आयोजना अपुरै रहँदा कम्पुटोल, देउराली चोक तथा नारायण चोकका घर गत वर्षदेखि पहिरोको जोखिममा पर्दै आएका हुन् ।

कम्पुटोलका नौ घर गतवर्ष नै बर्खाको समयमा विस्थापित भइसकेका थिए भने देउराली चोकका पाँच घरका बासिन्दा पनि घर छोडेर अन्यत्रै बस्न गएका छन् । अहिले पुनः अदालत चौपारीदेखि कम्पुटोल जाने पछाडितिरको सडक नै भासिएकाले पुनः एक दर्जन घर जुनसुकै बेला भत्कने अवस्थामा पुगेको छ । कमजोर भू बनोट भएका स्थानमा सचेतता र सुरक्षाबिना खानेपानी आयोजना निर्माण गरिएका कारण यस्तो भएको जनाइएको छ ।

रु ४५ करोडको लागतमा बगालुङ बजारमा २४ सै घण्टा पानी वितरण गर्न काठेखोलाको पानी कैलाम पोखरीमा प्रशोधन गरी वितरण गरिने योजना छ । आयोजनाकै कारण बस्ती जोखिममा परेको कैलाम पोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयराम भारीले गुनासो गरे । “नगरवासीलाई खानेपानी उपलब्ध गराउनाकै लागि भनेर वन मासेर आयोजना निर्माण गर्न दियौं” उनले भने, “ आयोजनाका कारण सडकमा पहिरो जाने र भासिने भएकाले एकातिर आयोजना नै के हुने हो भन्ने अन्योल छ भने अर्कोतिर दर्जनभन्दा बढी घर जोखिममा छन्” । मनसुन सक्रिय भएयता निरन्तरको झरीले कम्पुटोल हुँदै गाँैडाकोट जाने सडक बगाएर पैदल यात्रासमेत गर्न नसकिने भएकाले स्थानीयवासी देउराली चोकको सडक प्रयोग गर्न बाध्य भएका छन् ।

यसबारे वडा कार्यालय र नगरपालिकालाई ध्यानार्कषण गराउँदा पनि हालसम्म सुनुवाइ नभएको उनीहरूकोे गुनासो थियो । आयोजना र विभागसँग पहिराको विषयलाई लिएर निरन्तर छलफल भइरहेको नगरपालिकाको वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिइन् । “ठूलो पहिरो छ, ग्याबिन चिनेर र पर्खाल लगाएर सडक बनाउदासमेत लाखौं खर्च लाग्ने अवस्था छ, थोरै खर्चको भए वडा कार्यालयले बनाउथ्यो” उनले भनिन्, “नगरपालिकासँग छलफल गरेर आयोजना संरक्षण र पहिरो व्यवस्थापन गर्न भनेका छौँ तर नागरिकको अपेक्षानुसार सडक सञ्चालनमा ल्याउन र बस्ती सुरक्षित गर्न मुस्किल छ”।

नगर प्रमुख जनकराज पौडेलका अनुसार अहिले पहिराको अनुगमन गरिएको र ठेक्का लिएको कम्पनीले पहिरो मर्मत नगरेपनि आयोजना संरक्षणका लागि छुट्टै बजेट ल्याएर काम गर्नुपर्ने देखिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.