www.tandavnews.com
Fact ~ In search of truth

नेपाल पक्षको बैठक : नेतृत्वलाई आत्मालोचना गर्न माग

काठमाडौं ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ ।

बिहीबारदेखि काठमाडौँमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएका हुन ।

Batas

गत असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकासका लागि पर्याप्त नभएकाले थप गृहकार्य गरेर पार्टीको लोकप्रिय छविलाई जनतासमक्ष पुनःस्थापित गर्न लाग्नुपर्नेमा पनि जोड दिइएको छ ।

साथै अध्यक्ष ओलीले स्थानीय तहस्तरका पार्टीका अधिवेशन र विधान अधिवेशन तोक्ने निर्णय गरेर आफूखुशी अघि बढेकाले एकताको प्रक्रिया चलिरहेका बेला दुवै पक्षका समानान्तर गतिविधि हुन नहुने बैठकमा प्रस्ताव गरिएको छ । बैठकमा अहिले केन्द्रीय सदस्यको धारणा राख्ने क्रम सकिएर स्थायी कमिटीका नेताले बोल्ने क्रम चलिरहेको छ ।

पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले कार्यदलले समाधानका लागि सबै सवाल नसमेटेकाले त्यसबारे आफूहरु स्पष्ट हुन चाहेको र आत्मसम्मानसहितको एकताका पक्षमा कुरा उठाइएको बताए ।

उनले एकले अर्कोलाई अवहेलना र आरोपित गर्ने कार्यले सहजरूपमा काम गर्ने वातावरण नबन्ने भएकाले मनोवैज्ञानिक तथा भौतिकरुपमा सहज वातावरण निर्माण हुनुपर्ने बताए । नेता खतिवडाले पार्टीमा हार्दिकतापूर्वक सहयोगात्मक रुपमा सँगै काम गर्ने अवस्थाका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको मेल हुनु महत्वपूर्ण पक्ष भएको जनाए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.