www.tandavnews.com
Fact ~ In search of truth

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

चितवन ।

चितवन जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।

कृषि ज्ञान केन्द्रद्वारा गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रुतपरीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको थियो ।

Batas

भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका योजना प्रमुख राजन ढकालका अनुसार एक हजार ५७ नमूना परीक्षणका क्रममा १३ नमूना विसर्जन गरिएको, २० नमूनालाई क्वारेन्टिनमा केही समय राखेर मात्र बिक्री वितरणका लागि अनुमति दिइएको थियो ।

प्रयोगशाला दुई वर्षअघि सञ्चालनमा ल्याइएको हो । अघिल्लो आवमा २९९ नमूना परीक्षण गरिएको थियो । पहिलो आर्थिक वर्षमा दुई नमूनालाई बढी विषादीको प्रयोगका कारण विसर्जन गरिएको थियो भने छ नमूनालाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा प्रयोगशालामा परीक्षण गरिएका नमूनामध्ये सबैभन्दा धेरै काँक्रोमा विषादी प्रयोग भएको पाइएको र चार वटा काँक्राको नमूनालाई विसर्जन गरिएको कार्यालयले जनाएको छ ।

यस्तै बोडी, भेडेखुर्सानी, टमाटर, काउली, ब्रोकाउली, सिमी, घिरौँलालगायतमा विषादीको प्रयोग बढी भएको पाइएको छ । कालीमाटी तरकारी बजारबाटसमेत जिल्लाबाट गएका तरकारीमा विषादीको प्रयोग बढी भएको गुनासो आएपछि कृषकलाई गाउँगाउँमा गएर सम्झाउने र विषादीको प्रयोगबारे जानकारी गराउने काम भएको प्रमुख ढकालले बताए ।

कोरोना भाइरसको संक्रमणका कारण विदेश गएर फर्किएका र यही रहेका युवा अहिले कृषि पेशामा आकर्षित भएको कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गत आवमा समीक्षा गर्दै चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा हुने कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

प्रमुख डल्लाकोटीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘अबको सयम प्राङ्गारिक खेतीको हो । सबैले प्राङ्गारिक मल र उत्पादनको प्रयोग गर्नुपर्छ ।’ कार्यक्रममा केन्द्रका प्रमुख युवराज पाण्डेले आगामी कार्यक्रम कृषकमैत्री भएर सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.