www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

काठमाडौँ ।

कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन ।

सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारमात्रै उक्त अभियान घोषणा गरेको थियो ।

Batas

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत आइतबारमात्रै १० हजार ७६ लाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म पाँच लाख ३७ हजार ७४९ लाई मास्क वितरण गरिसकेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित उक्त अभियान थालेको थियो ।

यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १६१ लाई कारवाही गरी रु १६ हजार जरिवानासमेत गरिएको जनाइएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने तीन हजार ७१७ लाई रोकी सम्झाइबुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितको १४६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत १४ हजारभन्दा बढीलाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भई निको हुने दर ९३ दशमलव छ प्रतिशत छ । हालसम्म छ लाख ६९ हजार २९९ जनाले कोरोना जितेका छन् ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.