www.tandavnews.com
Fact ~ In search of truth

‘कोभिशिल्ड’ को दोस्रो मात्रा आजदेखि

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका’ खोप आज र भोलि दिन थालिएको हो ।

भूटान र जापानबाट ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डका रुपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Batas

उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन केही फरक नपर्ने जनाउँदै कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको बताए । करिब साढे चार महिनापछि कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका हुन् ।

भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार खोप आइसकेपछि ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको हो । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । तर दोस्रोमात्राका लागि खरिद गरिएको खोप भारतबाट नआएपछि ती ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिएनन् ।

कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि मन्त्रालयले ‘कोभिशिल्ड’ सट्टामा त्यस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने निर्णय गरेको थियो । खोप भोलिसम्म सञ्चालन हुनेछ । उपत्यकामा १४९ खोप केन्द्रबाट खोप प्रदान गर्न लागिएको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.