www.tandavnews.com
Fact ~ In search of truth

सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग

काठमाडौं ।

सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उनीहरुले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापनका साथै उनीहरुलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले देशभर बाढीपहिरोबाट अत्यधिक क्षति पुगेकाले पीडितलाई उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गरे । उनले क्षति कम बेहोर्न दीर्घकालीन योजनाको खाँचो रहेको औँल्याउँदै भारतसँग देखिएको समस्या कूटनीतिक रुपमा समाधान गर्न पनि आग्रह गरे ।

Batas

सोही पार्टीका सांसद रमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि र सरकारले बाटो नविराओस् भनेर गठबन्धन दलबाट साझा कार्यक्रम सार्वजनिक गरिसकेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कम्तीमा काम गर्न दिन पनि आग्रह गर्दै उनले सरकारले आगामी दिनमा जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई उन्मूलन नगर्दासम्म मुलुकले सोचे अनुसारको विकास गर्न नसकिने बताए । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि उनले सरकारसँग आग्रह गरे ।

कतिपय जिल्लामा विद्युत्लगायत विकास निर्माण कार्य अधुरै रहेकाले प्रक्रिया अघि बढाएर अधुरा योजना सम्पन्न गर्न सरकारसँग उनले अनुरोध गरे । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिमलाल भट्टराईले एक महिना पुग्दा पनि सरकारले पूर्णता नपाउनु दुःखद भएको उल्लेख गरे । सत्ताधारी दलको आलोचना गर्दै उनले राजनीतिक दल बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भनाइ राखे ।

सोही पार्टीका सांसद बिमला घिमिरेले दार्चुला घटनाका पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरे । कोरोनाविरुद्धको खोप लगाउने कार्य अव्यवस्थित भएकाले कोरोना संक्रमण झन बढ्ने स्थितितर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

कक्षा १२ को परीक्षा स्थगित गर्दा विद्यार्थी मारमा परेकोमा उनले चिन्ता प्रकट गरे । सोही पार्टीका अगमप्रसाद वान्तवा राईले इलामको चिया बगानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । बगानले कर नतिरेको भन्ने गुनासोको वास्तविकता सार्वजनिक गर्न पनि सरकारसँग उनले माग गरे । उनले चिया बगानलाई पर्यटन विकासमा भरपुर उपयोग गर्नु पनि आग्रह गरे । ए

मालेकै तुलसाकुमारी दाहालले सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीनको समस्या बल्झाएको बताउँदै भारतीय सीमा क्षेत्रमा रहेका सीमान्तकृत र दलित परिवारको उचित व्यवस्थापनका लागि सरकारसँग माग गरे।

त्यहाँका परिवारलाई भारतीय सीमा सुरक्षाकर्मीबाट ज्यादती हुने गरेकातर्फ उनले सरकारको ध्यानाकर्षण गराए । दाहालले समानतामा आधारित सिद्धान्त लागू गर्न पनि आग्रह गरे ।

एमालेकै उदया शर्मा पौडेलले महिला तथा बालबालिकामाथि कार्यक्षेत्रमा हुने हिंसा र दुव्र्यवहार रोक्न र उनीहरुलाई सुरक्षा प्रदान गर्न सरकारसँग अनुरोध गरे। हिंसा र दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेकाले तत्काल हिंसा र दुव्र्यवहारसम्बन्धी महासन्धी अनुमोदन गर्न पनि उनले माग गरे । उनले छाडा र अपमानजनक शब्द प्रयोग गरेर गीत बनाउने क्रम देखिएकाले यसतर्फ कलाकारलाई सचेत गर्न पनि माग गरे ।

अर्का सांसद ठगेन्द्रप्रकाश पूरीले कोभिड– १९ सबैको साझा समस्या रहेकाले सबैले कर्तव्यका साथ सामना गर्न अनुरोध गरे । उनले खोप अभियान बिना भेद्भाव र सरल रुपमा वितरण गर्नुपर्ने बताए । उनले ४७ हजारले कोरोना बीमा रकम प्राप्त गरेपनि एक लाख ९६ हजार बढीले बीमा रकम प्राप्त गर्न नसकेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.