www.tandavnews.com
Fact ~ In search of truth

सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री

काठमाडौं ।

सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब निकासा गरेको उल्लेख गरे ।

Batas

संविधान प्रदत्त समाजवाद निर्माण गर्दै वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरु निरन्तर लागि पर्ने बताए ।

पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गरे । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ छ ।

विप्रेषणलाई मुलुकको अर्थतन्त्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले उपभोग्य क्षेत्रमा खर्च हुँदा त्यसले नकारात्मक प्रभाव पारेको बताए । सार्वजनिक संस्थामा गरेको लगानीको प्रतिफल न्यून रहेको जानकारी दिँदै अर्थमन्त्रीले ती संस्थाको व्यवस्थापकीय सुधार गर्नुपर्नेमा जोड दिए ।

देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्यांक पेश गर्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताए ।

आयोजना कार्यान्वयनमा रहेको कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना प्रभावकारी कार्यान्वयन हुन नसकेको स्पष्ट पार्दै उनले मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी त्यसको उदाहरण भएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न गम्भीर कदम चाल्नुपर्ने अवस्था आएको अर्थमन्त्रीको भनाइ थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.