www.tandavnews.com
Fact ~ In search of truth

अँध्यारो पोखराः स्मार्ट सिटीभित्रै छ अझै बिजुली नबलेको बस्ती

जीवन सुवेदी
पाेखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिका-२३ हर्पनस्थित पँधेरापारीका ५ घरधुरी अहिसम्म पनि बिजुलीको उज्यालोबाट बञ्चित छन् । अनेक प्रयास र पहल गर्दा पनि आफूहरुले विजुलीको उज्यालो नपाएको स्थानीय माया पौडेलको गुनासो छ ।

साविक भदौरे गाविस वडा नं ४को वडा भवन, कफि प्रशोधन केन्द्र, चुँडामणी पौडेल, भुवानी शंकर पौडेल र होम बहादुर सुनारको घरमा अहिलेसम्म पनि विद्युत पुग्न नसकेको उनले ताण्डव न्यूजलाई जानकारी दिईन् ।

Batas

“घरमा विरामी मान्छे छन्, अहिलेको यस्तो यूगमा आएर पनि अन्धकारमा बस्नुपरेको छ” पीडा सुनाउँदै मायाले भनिन् । विद्युत नहुँदाको समस्या लिएर सम्बन्धित निकाय धाउँदा धाउँदै हैरान भएपछि मिडिया गुहार्न बाध्य भएको उनको गुनासो छ । “वडा र प्राधिकरणमा निवेदन दिएर आएको पनि वर्षैँ पुगिसक्यो, प्र्राधिकरणमा दैैनिक जसो फोन गर्छु तर अहिलेसम्म विजुलीको पोल समेत गाडिएको छैन” मायाले भनिन् ।

विद्युत नहुँदा मोबाइल चार्ज गर्न समेत अरुका घरमा जानुपर्ने बाध्यता रहेको उनको दुखेसो छ । विद्युत नभएकै कारण अनलाईन कक्षा पढ्नका लागि समेत आफूलाई समस्या भएको पौडेलका छोरा अनुपले बताए । अनुप अहिले स्नातक तहमा अध्यनरत छन् ।

सबै समस्याको ठेक्का मैले मात्रै लिने हाे र ? : वडाध्यक्ष

विद्युत नहुँदाको गुनासोका सवालमा पोखरा महानगरपालिका वडा नं २३ का वडाध्यक्ष विष्णु पराजुलीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए । उनले वडामा के कस्ता समस्या हुन्छन सबै समस्याको आफूले ठेक्का लिन नसक्ने बताए । “वडाबासिको सेवा गर्नका लागि मैले समय पनि पाउनुपर्यो” उनले भने “महामारीको समयमा ज्यानको माया हुन्छ तपाईँलाई पनि हुन्छ सबैलाई हुन्छ, कतिपय गाडी पनि नचलेको अवस्था हुन्छ ।” उनले कसैको समस्यामा आफूमात्रले समाधानको पहल गर्न नसक्ने बताए । “हामी गएर पहल गर्दिने रे, उहाँहरु पनि साथमा जानु पर्यो नि, वडाध्यक्षले जम्मै कुरा गर्दिने रे”, पराजुली कड्कीए । उनले वडाध्यक्षहरु साधन श्रोतविहिन भएकाले जनताका समस्या समाधानका लागि कठिन भएको बताए । “सारा साधन सम्पन्न भएको सरकारले नसकेको कुरा हामी वडा अध्यक्षसंग के साधन छ र ?” उनले भने “एउटा गाडी छैन गतिलो फोनको व्यवस्था पनि छैन भनेदेखि सबै वडा अध्यक्षले काम गर्न सक्छन् जस्तो लाग्दैन मलाई ।”

भदौसम्म काम गर्छौँ : प्राधिकरण इन्जिनियर

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र अन्र्तगत ग्रामिण विद्युतिकरण ईन्जियर नरेस दत्त रावलले उक्त ठाउँमा पोल गाड्नका लागि काठमाण्डौको कम्पनीले ठेक्का पाएको बताए । “त्यस ठाउँका लागि पनि टेन्डर भैसकेको छ उनीहरुले काम गर्दैछन, हामीले आवस्यकताको आधारमा प्राथमिकताका साथ काम गर्दैछौँ” उनले भने । हर्पनमा चाहिँ किन ढिलाई भएको हो रु भन्ने ताण्डव न्यूजको प्र्रश्नमा रावलले भने “ त्यहाँ मात्र होईन अन्त पनि विद्युतको माग धेरै छ, बजेटका कारण एडे्रेस गर्न सकिरहेका छैनौ” सायद भदौको अन्तिम सम्म काम पूरा हुन्छ ।” माग भएका ठाउँहरुमा आवस्यकतार महत्वका आधारमा प्राथमिकता दिँदै जाने उनको भनाई छ ।
गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश बनाउने भनेर कार्य गरिरहेको भएपनि देशकै ठूलो पोखरा महानगरका वडाबासी भने अन्धकारमा रहनुपरेको अवस्था छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.