www.tandavnews.com
Fact ~ In search of truth

सांसद्को प्रश्न– ‘सबै नागरिकलाई खोप कहिले ?’

काठमाडौं । 

सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक महत्वमाथि दिएको वक्तव्यमाथि प्रश्न गर्दै सांसदहरुले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गरी सहजरूपमा सेवा लिने वातावरण बनाउन आग्रह गरे ।

Batas

सांसद दिव्यमणि राजभण्डारीले परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै कोरोनाविरुद्ध लड्न नेपाली कांग्रेसले प्रतिपक्षमा रहँदा उठाएको सर्वदलीय संयन्त्र बनाउने कुराको प्रगतिका बारेमा प्रश्न उठाए । सांसद शेरबहादुर तामाङले एक महिना पहिले र अहिले तथ्याङ्क केही फरक नभएको बताए । सरकारले मेलम्ची क्षेत्रमा बाढी, पहिरो प्रभावित क्षेत्रमा नागरिकले शतप्रतिशत खोप दिने भने पनि नागरिकले नपाएको उल्लेख गरे ।

सांसद विमला विकले श्रमिक वर्गलाई खोप दिइनुपर्ने बताउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भन्नुभयो– निजी क्षेत्रसँग सहकार्यमा कुन–कुन विषय समावेश हुन्छ भनी जिज्ञासा राखे । सांसद् डिला सङ्ग्रौलाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक करोड मात्रा खोप ल्याएको भनेको भन्दै त्यसको भण्डारणको अवस्था के छ भन्दै प्रश्न गरे । सांसद सरीता न्यौपानेले कोभिड परीक्षणको गलत रिपोर्ट दिनेलाई कारबाही हुनुपर्ने बताए ।

सांसद गगनकुमार थापाले कोभिडका कारण परीक्षा रोकिएको तर परीक्षार्थीले कहिले खोप पाउने भन्ने निश्चित नभएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले साँझ ८ बजेपछि आवागमन रोकेको भन्दै उहाँले त्यससम्बन्धी अध्ययनको आधारका बारेमा प्रश्न गरेका छन् ।

सांसद रामकुमारी झाँक्रीले ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप पाउनुपर्ने र विदेश जानका लागि खोप लगाउन नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । सांसद बिन्दा पाण्डेले कोभिड संकं्रमणका कारण मानसिक समस्या र हिंसा बढेको उल्लेख गरे ।

सांसद कृष्णकुमार राईले आफ्नो क्षेत्रमा मःम पसलमा खोप पाइएको बताए। सांसद निरुदेवी पालले तेस्रो लहरमा बालबालिकालाई जोखिम बढी भएको तर त्यस क्षेत्रमा विशेषज्ञ कम रहेकाले त्यसको तयारीका बारेमा जिज्ञासा राखे ।

सांसद मीनबहादुर विश्वकर्माले दीर्घरोगीलाई दिइने मासिक भत्ताका बारेमा प्रश्न राखे । सांसद राजेन्द्रकुमार केसीले पूर्वप्रधानमन्त्रीले आइसकेको भन्नुभएको खोपको संख्या र अहिले सरकारले प्रस्तुत तथ्यांकमा फरक पाइएको उल्लेख गरे ।

सांसद महेश्वरजङ्ग गहतराजले हिमाली र पहाडी क्षेत्रमा भण्डारणको समस्या देखिएकाले त्यसमा मन्त्रालयले ध्यान दिनुपर्ने बताए । सांसद धर्मशिला चापागाईँले मन्त्रालयले विज्ञ राखेर प्राविधक टोली बनाएर सङ्क्रमणविरुद्ध लड्न तयारी गर्नुपर्ने उल्लेख गरे । सांसद प्रकाश रसाइलीले कर्णाली र सुदूरपश्चिमका अस्पताल जीर्ण भएकाले पूर्वाधारको तयारी आवश्यक रहेको औँल्याए। सांसद् रामबहादुर विष्टले सरकारले चाँडै सबै नागरिकले खोप लगाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सांसद पुष्पा भुसालले अहिले तेस्रो लहरको चुनौतीसँगै गर्मीयाममा अरु रोग बढिरहेकाले त्यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको औँल्याए । सांसद गङ्गा चौधरी, उमा रेग्मी र प्रेम सुवालले खोप लगाउने स्थानमा रहेको भीडभाडको व्यवस्थापन हुनुपर्नेमा जोड दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.