www.tandavnews.com
Fact ~ In search of truth

सकियो २७ सम्पदाको पुनःनिर्माण, २० सम्पदाको शुरु हुनै बाँकी

काठमाडौं ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए । ‘हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन’, उनले भने ।

Batas

हनुमानढोका विकास समितिबाट पुनःनिर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ ।

आगम्छे घर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ । जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । कामपाबाट पुनःनिर्माण भइरहको माजुदेग, शिवपार्वती मन्दिर र नारायण मन्दिरको भने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ७० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.