www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ :सडक कालोपत्र नहुँदा सास्ती, बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे

बागलुङ ।

बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पहिला एक दिन लाग्थ्यो अहिले निसीसम्मै सडक कालोपत्र छ । बागलुङ बजारदेखि घोडाँबाधेसम्मको सडक कालोपत्र भएको छैन ।

यही सडकमा घण्टौं सवारी फस्ने, जाम हुँने र सडक अवरुद्ध हुँदै आउदा नागरिकलाई सास्ती खेप्नु परेको छ । हिउँदमा एक डेढघण्टामा पार हुँने घोडा बाधेदेखि बागलुङ बजारसम्मको २५ किलोमिटर सडक बर्खामा चार घण्टासम्म लाग्ने गरेको छ ।

Batas

सडक हिलाम्मे, खाल्टाखुल्टी हुँदा सवारी फस्ने, बिग्रने मात्र होइन दुर्घटनाकोसमेत जोखिम हुँने गरेको छ । बुर्तिवाङबाट सरर कालोपत्र सडकमा आए पनि जिल्ला सदरमुकाम नजिकै सडकको हालत देख्दा यात्रा गर्न नपरोस् भन्ने लाग्ने यात्रु सविना कुँवरले गुनासो गरे। ‘बागलुङको छेउमा जिल्ला सदरमुकाम छ, प्रशासनिक काम गर्न जिल्ला सदरमुकाम आउनै प¥यो’उनले भने, ‘कालोपत्र नुहँदा सवारी दुर्घटनाको जोखिम मोलेरै भए पनि यात्रा गर्न बाध्य छन्, यो सडक कहिले कालोपत्र होला भन्ने हामी बागलुङका पश्चिमीवासीले दिन गनेका छौं ।’

मध्यपहाडी राजमार्ग मात्रै होइन अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ । खुलेको तीन चार दिनमानै अवरुद्ध हुँने सडक सडक विभागलाई हस्तान्तरण भए पनि झनै समस्यामा परेको छ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने करिडोर बन्द छ भने बलेवा हुँदै कुस्मिशेरा जाने सडक मालढुङ्गा पारी पटक–पटक पहिरो जाँदा निकै कष्टकर यात्रा गर्नुपर्ने यात्रुको गुनासो छ ।

सडक दुर्घटनाको जोखिम मोलेर यात्रु यात्रा गर्न बाध्य भएका छन् । नगरपालिकाभित्रैको रायडाँडा, भकुण्डे र तित्याङ नाम मात्रैका सडक हुन् । बर्खा लागेपछि घण्टौं लाग्छ यात्रुलाई गन्तव्यमा पुग्न छ । तित्याङ र भकुण्डेसम्मका सडक सुधार नहुँदा रायडाँडामा निकै कष्टकरले मात्रै सवारी पुग्ने गरेको बागलुङ नगरपालिका– ११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

जिल्लाका सडक भौगोलिक कारणले समेत भिरालो पहाडमा खनेका हुनाले बर्खामा सडकमा पहिरो जाने, ज्यान हत्केलामै हालेर यात्रु यात्रा गर्न बाध्य रहेका छन् । सडक सुधार भएर नगर बस सञ्चालमा आइसकेको सिगानाको १२ किलोमिटर सडक पार गर्नै अहिले एक घण्टा भन्दा बढी समय लाग्छ । हिउँदमा २५ मिनेटमा पार हुने सडक बर्खामा बिग्रएको छ भने काठेखोला गाउँपालिकाको रेश जाने सडक अवरुद्ध हुँदा र रेशखोला बढ्दा सिगानाकै बाटो रेशमा सवारी गुड्ने गरेका छन् । सिगानाको आलामुनीमा रेश हिँडेका सवारी घण्टौं जाम हुनेभएपछि स्थानीय युवा र सवारी धनी मिलेर सडकमर्मत गरेको स्थानीयवासी कृष्ण खड्काले जानकारी दिए ।

बागलुङ बजारदेखि अछेते, भिमापोखरा हुँदै धम्जा जाने सडकको उस्तै हालत छ । सामान्यतया साढे दुईघण्टामा धम्जाको शिर ओख्ले पुग्न सक्ने सडक भिमापोखरा क्षेत्रमा बढी बिग्रिएको छ । अफ्ठ्यारो घुम्टी तथा सवारी फस्ने स्थानमा ग्राभेल, ढलान र कतै नाली निर्माण गरिएको भए पनि अन्य स्थानमा सडक निकै जोखिमपूर्ण रहेको र भाडाबापत कमाएको रकम सवारीसाधन मर्मत गर्नै खर्च हुने सवारी चालक सागर श्रीसले बताए ।

‘सवारी कहाँ फस्छ, कतिबेला बिग्रन्छ भन्ने टुङ्गो छैन, यात्रुको सेवाका लागि बर्खामा निकै जोखिम मोलेर सवारी चलाइन्छ, धम्जाको धेरै स्थामा पानीको निकास नगर्दा सवारीसाधन फस्ने र चिप्लने गरेका छन्’ उनले भने,‘पञ्चकोट भिमापोखराको सडक निर्माण भइरहेकाले अहिले बन्द छ त्यो सडक अलि छोटो थियो, कहिलेकाहीँ दुई तीन घण्टानै सडकमा सवारी फस्ने गरेको छ, बर्खाको तीन चार महिना सवारी चलाउनै मुस्किल छ, हिउँदमा अल्लि सहज हुन्छ ।’

जिल्लामा बर्खाको समय अधिकांश ग्रामीण सडक पहिरोका कारकण बन्द हँुदै आएका छन् । स्थानीय तहले समय समयमा बन्द सडक खुलाउँदै आएको भए पनि निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य हुने गरेको छ । जैमिनी नगरपालिका, बरेङ तर्फका सडकमा बेला–बेलामा सवारीसाधन फस्ने र दुर्घटना हुँदै आएका छन् भने ताराखोला, तमान पुग्ने सडकसमेत दुर्घटना निम्ताउने खालका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.