www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा एक वर्षमा १२ पुल शिलान्यास, सम्पन्न शून्य

तनहुँ ।

आर्थिक वर्ष ०७७-७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

विगतमा प्रदेश सरकारका लगानीमा जिल्लामा पक्की पुल शिलान्यासको लहर चलेको थियो । विभिन्न नदी तथा खोलामा ती सबै पक्की पुल निर्माणाधीन छ । तीमध्ये तीन आगामी असोजसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । बाँकी पुलको म्याद आगामी आव रहेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । ‘कोरोना कहरका कारण समयमै सकिनुपर्ने पुलको काम सम्पन्न हुन सकेन’, उनले भने ।

Batas

कोरोना कहरका बाबजुद निर्माण कम्पनीले काम पनि गरेका थिए । लक्ष्यअनुसार भने पूरा नभएको उनी बताउछन् । निर्माणाधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उनको भनाइ छ । कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार छ महिना म्याद थप गरिनेछ । ‘म्याद सकिएका पुल छ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन गरिएको छ’, उनले भने।

गत वर्ष शिलान्यास भएका दुई वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ । रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको हो । ‘दुवै पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ, अब स्ल्याब राख्ने काम मात्र बाँकी छ’, उनले भने ।

निर्माणाधीन ती पुललाई २९ करोड एक लाख २९ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । यसआवमा प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख विनियोजन गरेको छ । सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २४० आवश्यक पर्दछ ।

चालू वर्षमा पनि प्रदेश सरकाले जिल्लाका १४ मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । ती पुललाई तीन करोड ३० लाख बजेट विनियोजन भएको छ । बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि विस्तृ आयोजना प्रतिवेदन (डिपिआर) तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल काम शुरु गरिने कार्यालय प्रमुख ढुङ्गानाले बताए ।

वर्षामा सडक सञ्जालबाट सम्पर्क विच्छेद हुने जरेवरका बासिन्दालाई यस वर्षामा पक्की मोटरेवल पुलबाट खोला तर्न पाउने आशा थियो । भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेबर जोड्ने गरी बरखोलामा शिलान्यास गरेको पुल गत असार २२ मा सम्पन्न हुनुपर्ने थियो । मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ठेक्का पाएको पुलको चार वटा पिल्लर ठडिनेबाहेक काम भएको छैन ।

हिउँदमा कुलो जत्रै भएर बग्ने बुडुवा खोला यतिबेला तर्न नसक्ने अवस्थामा छ । यहाँका स्थानीवासी घाँस दाउरा र मेलापात गर्न बन्दै गरेको अधुरो पुलबाट जोखिम मोलेर तर्न बाध्य छन् । बुडुवा खोला तरेर लोकतान्त्रिक मोटरमार्गमा सवारी गुडाउने चालकलाई पनि सास्ती छ ।

वर्षांैदेखि मोटरेवल पुल चाहियो भन्दै आएका स्थानीयवासीको मागलाई सुनवाइ गर्दै प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास भएको थियो । गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत असार २७ मा सकिएको छ ।

पुलको काम सक्न १५ प्रतिशत बढी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए । ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला । बाढी आएर काम रोकियो’, उनले भने, ‘पुल र सडकका बीचमा फिल्डिङ गर्ने काम बाँकी छ ।’

ऋषिङ गाउँपालिका–४ मधुवन र पाँच रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेवल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति सकिएको छ । ठेक्का सम्झौताअनुसार गत असार २५ गते पुल निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । ज्वाला खोलासहित शालिकराम करिडोरमा मात्र चार वटा पुल शिलान्यास गरिएको थियो । हालसम्म एउटा पनि सम्पन्न भएको छैन । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.