www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा युवा स्वरोजगार : सम्भावना र चुनौति

गण्डकी प्रदेश नेपालकै सबैभन्दा वढि रोजगारको सम्भावना बोकेको प्रदेश हो । ११ वटा जिल्लाहरु रहेको यस प्रदेशमा सबै जिल्लाहरुमा रोजगारीको उत्तिकै सम्भावना रहेको कुरा प्रष्ट छ । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले युवा स्वरोजगारका विषयमा फेरी एक पटक नयाँ तरङ्ग ल्याएको छ ।

गण्डकी प्रदेशभित्र रहेका रोजगारका अवसरहरुको सम्भावना र यसका चुनौति भन्ने विषयको उठानले युवाहरुलाइ देशमा नै सुन फल्छ भन्ने कुराको पहिचान गराउन सफल हुने छ । वर्तमान् समयमा सबैभन्दा बढि मोल हुने कुरा केहि छ भने त्यो कुनै नयाँ रचनात्मक विचारको नै हो । विश्व परिवेश हेर्ने हो भने पनि बहुराष्ट्रिय कम्पनिहरुमा नविनतम् विचार र आविष्कार गर्नका लागी नै सबैभन्दा वढि रकम खर्च गरिन्छ भने तलब पनि नविनतम् विचार ल्याउनेहरुको नै हुन्छ । गण्डकी प्रदेशमा रहेका रोजगारीका सम्भावना क्षेत्रहरुको पहिचान मात्र गर्ने हो भने पनि यसले भविष्यमा समग्र गण्डकी प्रदेशको विकासका र युवा स्वारोजगारका लागी कोसेढ्ङ्गा सावित हुनेछ ।

देशकै सबैभन्दा वढि वैदेशिक रोजगारीमा जाने जिल्लाहरुमध्ये नवलपुर , बाग्लुङ्ग जस्ता जिल्लाहरु यस प्रदेशका उदाहरणहरु हुन् भने प्रदेशका सबै जिल्लाहरुबाट उत्तिकै संख्यामा वैदेशिक रोजगारीमा गएको देखिन्छ । युवाहरु वैदेशिक रोजगारमा जाने पहिलो कारण भनेको देशमा रोजगार प्राप्त गर्न नसक्नु नै हो । हाम्रा युवाहरुले विदेशमा रगत र पसिना सिचाइ गरेर त्यहाँको विकास गरिरहेका छन् । नेपालमा भएका केहि उद्योगपतिहरु समेत नेपालको अस्थिर राजनीति र व्यवसायको अनिश्चितताका कारण विदेशमा लगानि गरिरहेका छन् जसले नेपाली युवाहरु श्रमका लागि विदेशिने बाध्यता विद्यमान रहेको छ ।

Batas

५० प्रतिशतको हाराहारीमा रहेको नेपालको युवाहरुको जनसंख्यालाइ बोनस युवा जनसंख्या समेत भन्ने गरिन्छ । बोनस युवा जनसंख्या रहेका हाम्रोे देश र प्रदेशबाट बर्षेनी लाखौँको संख्यामा वैदेशिक रोजगारका लागि जाने गर्दछन् । घरपरिवारको सामान्य खर्च धान्नका लागी , आफ्ना सन्तानको आवश्यकता पुरा गर्न , बुबा आमालाइ पाल्नका लागि युवाहरु विदेशिने गरेका छन् । दुःखको कुरा कतिपयको सपना पुरा भएको छ भने कैयौँ नेपालीको लास नेपाल भित्रीरहेको छ । धनको बाकस भर्ने सपना लिएर विदेशिएका नेपालीहरु रातो काठको बाकसमा नेपाल फर्किरहेका छन् । युवाहरुलाई स्वदेशमा नै रोजगार सिर्जना गर्न र समृद्ध राष्ट्र निर्माण गर्नका लागि थुप्रै किसीमका सम्भावनाहरु गण्डकी प्रदेशमा रहेका छन् ।

पर्यटन

पर्यटन मात्र यस्तो रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्र हो जसमा कम लगानी र सामान्य सीपले हजारौँको संख्यामा रोजगार सिर्जना गर्न सक्दछ । पर्यटनको विकास गण्डकी प्रदेशको पहिलो रोजगारीको बाटो हो । यस प्रदेशमा एक दिनमा नै खलखली पसिना आउने तराइको तातो गर्मिमा हामि पसिना बगाउने वातावरण पाउन सक्छौँ भने केही घण्टाको बस यात्रामा सेताम्य हिँउ खेल्ने ठाउमा पुग्न सक्छौँ त पसिना काड्दै हिड्दै पनि केहि घण्टामा थरथर आतै काम्ने सितल ठाउमा पुग्न सक्ने वातावरण छ । अपर मुस्ताङ , अन्नपुर्ण , जोमसोम , मुस्ताङ , नार्फु भ्याली , काङ्ला पास , अन्नपुर्ण ट्रेक सर्किट , तिलिचो ताल , मर्दि , पुन हिल , मार्फा भ्याली लगाएतका स्थानहरु विश्वकै सर्वेत्कृष्ट पदमार्गहरु रहेका छन् । प्राकृतिक स्रोत र साधनले भरिपुर्ण यस प्रदेशमा कास्कि जिल्लाको पोखरामा रहेका फेवा ताल , बेगनास ताल , रुपा ताल लगाएतका तालहरु रहेका छन् भने प्राकृतिक रुपमा रहेका महेन्द्र , चमेरो , गुप्तेश्वर महादेवको गुफा समेत रहेका छन् जसले वर्सेनि लाखौँ को संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सफल छन् ।

धार्मिक पर्यटनमा यस प्रदेश अर्काे सम्भावना बोकेको छ । हिन्दु धर्मको सबैभन्दा महत्वपुर्ण धार्मिक स्थलका रुपमा रहेको मुक्तिनाथ मन्दिर यस प्रदेशमा छ भने , बाग्लुङ्ग कालिका , शान्ति स्तुपा , मनकामना मन्दिर , मौलाकालिका मन्दिर , देवघाट धाम , सिजि शाश्वत धाम , दाउन्ने देवि मन्दिर लगाएतका धार्मिक स्थलहरुले उल्लेखनिय मात्रामा धार्मिक पर्यटकहरु भित्राएका छन् । प्रकृतिक पर्यटकहरुका लागि विश्वकै दुर्लभ मानिने एक सिंगे गैँडा भएको चितवन राष्ट्रिय निकुञ्ज , जटायु रेष्टुरेण्ट , अन्नपुर्ण संरक्षित क्षेत्र लगाएतका स्थानहरु प्रकृतिक पर्यटकहरुका लागि निकै महत्वपुर्ण स्थानहरु प्रदेशका गहना हुन् । पोखरामा रहेको अन्तराष्ट्रिय हिमालयन संग्रालय हाम्रो महत्वपुर्ण पर्यटकीय स्थल हो ।

ऐतिहासिक प्रर्यटनका हिसाबले पनि यस प्रदेश निकै महत्वपुर्ण रहेको छ । नेपाल एकिकरण सुरु भएको गोर्खा दरबार समेत गोरखा जिल्ला यसै प्रदेशमा पर्दछ । शाहसिक पर्यटकका लागि कास्किको सरङकोटबाट प्याराग्लाइडिङ , कुश्मामा रहेको बञ्जि जम्प लगाएतका शाहसिक पर्यटकीय स्थलहरुले शाहसिक पर्यटक भित्राइरहेका छन् । पर्यटनको क्षेत्रमा यति धेरै सम्भावनाहरु रहेका छन् जसले गर्दा युवाहरुलाइ रोजगारीका लागि कहिँ जानु नै पर्देन यदि प्रदेश सरकारले उचित किसीमका योजनाहरु ल्याएर कार्यान्वन गर्ने हो भने अबको केहि वर्षमा नै हामी यस प्रदेशका सबै युवाहरुलाइ रोजगार दिन सक्दछौँ । पर्यटकहरु आउदा बस्ने लक्जरी तथा सामान्य होटल सञ्चालन गर्ने , पथपर्दशकहरु तयार पार्ने , सवारीका साधनहरु सञ्चालन , उनिहरुले खाने खानेकुराहरुको उत्पादन गर्ने , सेवा प्रदान गरेर रोजगारी सिर्जना गर्न सकिन्छ । जसले हजारौँको शंख्यामा एकैपटक रोजगारीको अवसर सिर्जना हुन्छ ।

पर्यटन व्यवसायमा यति धेरै सम्भावना हुदाँ हुदै पनि सुनको पिर्कामाथि बसेर भिक मागिरहेका छौँ हामि । पर्यटन व्यवसाय अनन्तकाल सम्म चलिरहने व्यवसाय पनि हो तर उचित किसीमका पुर्वाधारहरुको कमि तथा प्रचारप्रसारको कमिका कारण हामि पछि परिरहेका छाँै अब नेपाल भ्रमण वर्ष २०२० जस्तै गण्डकी भ्रमण वर्ष २०२२ अथवा कुनै वर्ष तय गरेर निति निर्माण गरी अघि बढ्न जरुरी छ । जो कोहि मानिस आफ्नो आत्मसम्मानको ज्यादै भोको हुने गर्दछ र चाहन्छ की सबैले सम्मान गरुन् यो कुरा पर्यटन क्षेत्रमा लागू गर्न सकिन्छ , जसका लागि हामी गण्डकी प्रदेश वासी सबैले मिलेर पर्यटकहरुलाइ नमस्ते गर्ने नमस्ते कल्चरको विकास गर्न सक्यौ भने यसले पर्यटनमा ठुलो टेवा पुराउने छ , कोही पनि पर्यटक नेपाल आउदा अथवा नेपाली पर्यटक नै घुम्न जादा उसलाइ सबैतिरबाट नमस्ते नमस्ते गर्ने हो भने ज्यादै खुशी हुन्छ । पर्यटन विकासका लागि अन्तराष्ट्रिय स्तरमा प्रदेशमा भएका पर्यटकीय क्षेत्रको भिडियो प्रतिस्पर्धा गराउने जसले राम्रो भिडियो बनाउछ उसलाइ पुरस्कृत गर्ने हो भने पनि यहाँ लाखौँको संख्यामा पर्यटक भित्रनेछन् भने हाम्रो ठाँउको निशुल्क रुपमा प्रचारप्रसार समेत हुन्छ । । वैदेशिक रोजगारमा सिकेका सीप समेत पर्यटन व्यवसायमा लगाउन सकिन्छ । पर्यटकीय स्थलहरुले भरिपुर्ण प्रदेशमा पर्यटनबाट ठुलो रोजगारी सिर्जना गर्न सकिन्छ ।

कृषी

कृषी गण्डकी प्रदेशको अर्काे ठुलो रोजगारीको क्षेत्र हो । कृषीको क्षेत्रमा प्रदेश अपार संम्भावना बोकेको छ जसलाइ अब सहि सदुपयोग गर्न जरुरी छ । यहाँ धान , गहुँ , मकै , कोदो , भटमास , जौँ , मार्सि धान लगाएतका अन्नबालि उब्जाउन सकिन्छ । स्याङजा र तनहुँमा मकै, लमजुङ कास्कि , स्याङजामा कफि उत्पादन , नवलपुरमा उखु खेति हुन्छ जसलाइ व्यवसायिक ढंगबाट सुरु गर्न जरुरी छ । पशुपालनमा गाई , भैसि , बाख्रा , कुखुरा , भेडा , च्याङ्ग्रा , हाँस पालन भएको छ भने वर्तमान् समयमा कालिजलाइ पनि व्यवसायिक रुपमा पालन गर्न थालिएको छ यिनलाइ व्यवसायिक रुपमा पालन गर्न सकिने सम्भावना छ । मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन गर्न सकिन्छ । फलफुल उत्पादका लागि समेत यस प्रदेश ज्यादै राम्रो मानिन्छ । नेपालकै ठुलो स्याउ खेति मुस्ताङमा सञ्चालनमा ल्याइएको छ । गोर्खा , लमजुङ , तनहुँ , बाग्लुङ , स्याङ्जा जिल्लाहरुमा सुन्ताला खेति गर्न सकिन्छ । मत्स्य पालनको सम्भावना पनि उत्तिकै रहेको छ । नवलपुर जिल्ला त लगभग माछामा आत्मनिर्भर रहेको छ । त्यस्तै पहाडि क्षेत्रहरु बढि रहेको यस प्रदेशमा ट्राउट जातका माछाहरु पाल्न सकिन्छ जसको बजार भाउ समेत ज्यादै राम्रो छ । ड्रागन फु्रटलाइ पनि व्यवसायीक ढंगबाट खेति सुरु गरिएको छ । प्रविधिक र व्यवसायिक कृषी गर्न सकिने सम्भावना ज्यादै ठुलो छ र गरिनुपर्दछ । यहाँ उल्लेख भएका कृषि पेशाहरु थोरै मात्रामा व्यवसायिक रुपमा सञ्चालन भएका छन् । युवा स्वरोजगारका लागि सरकारले युवाहरुलाइ कृषीपेशाका लागि बिना व्याजमा ऋण प्रदान गर्न , विचौलियाहरुको विगविगि हटाउने , समयमा मल विऊ प्रदान गर्न साथै अनुदान दिन जरुरी छ भने उत्पादन भएका कृषी सामाग्रीको उचित भाउमा सरकारले नै खरिद तथा बजारको व्यवस्था गर्ने हो भने युवाहरु ज्यादै लाभान्वित हुनेछन् र ठुलो मात्रामा रोजगारी सिर्जना हुने छ ।

उद्योग

एकैपटकमा हजारौँको संख्यामा रोजगारी दिन सक्ने भनेको नै उद्योगले हो । अबको दिनमा तालु बेच्ने हो वौद्धिकताको विक्री गर्ने हो । आइटि सबैभन्दा ठुलो सम्भावनाको क्षेत्र हो । नयाँ खालका आइटि कम्पनिहरु खोल्ने , अटोमोबाइल एसेम्बलका कम्पनिहरु स्थापना गर्ने , बहुराष्ट्रिय कम्पनिहरुलाइ नेपाल भित्राउने खालका योजना ल्याउन सकिन्छ । भारत र चीन जस्ता हाम्रा ठुला र विश्व अर्थतन्त्रमा उदाउदा देशहरु रहेका छन् जहाँ बाट हामीले थुप्रै किसीमका रोजगारीका लागी नेपालमा नै बहुराष्ट्रिय कम्पनिका केही भाग काम गर्नका लागी छलफल अघि बढाउन सक्छौ भने , त्यहाँ रहेका उद्योगपतिहरुलाइ नेपालमा लागानी गर्नका लागी समेत प्ररित गर्न सक्छौ । हाम्रो प्रदेशमा नवलपुरको चौधरी ग्रुप , होङ्गसी सिमेन्ट, कास्किको औद्योगिक क्षेत्र ठुला उद्योगहरु हुन् जहाँ हजाराँैँको संख्यामा युवाहरुले रोजगारी पाइरहेका छन् । इटा , छाला , हिमाली जिल्लाहरुमा उनिका कपडाहरु निर्माण गर्न कपडा , दुग्द्य , फलफल तथा खाद्य पदार्थहरुबाट ब्रुअरी उद्योग स्थापना गर्न सकिन्छ । विश्वको ताजा पानी पाइने देशहरुको तेस्रो नम्बरमा नेपाल पर्दछ , हाम्रो प्रदेशको हिमालबाट आउने पानी हिमालहरुको नाम दिएर , मुक्तिनाथको पानी , मुस्ताङको पानी लगाएत नाम दिएर पिउने पानीलाइ ब्राण्डिङ गरेर अन्तराष्ट्रिय बजारमा बेच्न सकिन्छ । नेपालमा बर्षेनि खेर गइरहने बनपैदावरहरुबाट महंगा किसीमका अत्तर बनाएर अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सकिन्छ । नवलपुरमा रहेको भृकुटि कागज कारखाना फेरी सञ्चालनमा ल्याउन सके यसबाट समेत हजारौँको संख्यामा रोजगारीको अवसर सिर्जना हुने छ ।

खानि सञ्चालन

नेपालकै सबैभन्दा ठुलो फलाम खानि रहेको नवलपुरको धौवादी फलाम खानि अब छिट्टै सञ्चालनमा ल्याउनु पर्दछ । त्यस्तै मनाङ तथा मुस्ताङ जिल्लामा रेडियम खानि रहेको खबर सुन्न पाएका छौँ यसको प्रदेश सरकारले विज्ञहरुलाइ अनुसन्धान गर्न लगाउन सकेको खण्डमा ठुलो परिणममा रोजगारी सिर्जना गर्नुका साथै देशले नै नयँ फड्को मार्न सक्दछ । तामा , सुन , कोइला , सिसा लगाएतका खानिहरु प्रशस्त मात्रामा रहेका छन् पत्ता लागिसकेका खानिहरुबाट धमाधम खनिज निकाल्ने र नयाँ स्थाहरुको खोजि गर्न जरुरी छ । यसमा सबैभन्दा ठुलो समस्या भनेको सरकारले ठोस् कदम् चाल्न नसक्नु हो जसले गर्दा बर्षेनि अरबौ मुल्यको खनिजहरु त्यसै खेर गइरहेका छन् जसलाइ सरकारले छिट्टै सञ्चालनमा ल्याउन जरुरी छ ।

होमस्टे

होमस्टे गण्डकी प्रदेशको सबैभन्दा ठुलो रोजगारी सिर्जना गर्ने क्षेत्र हो । जसले प्रत्यक्ष रुपमा कम लगानिमा नै ठुलो रोजगारीको अवसर एकै साथ पुरै गाऊलाइ नै प्रदान गर्न सक्दछ । कास्कि जिल्लामा ४० , गोरखामा ४ , तनहुँमा ६ , नवलपुरमा ५ , पर्वतमा २० , बागलुङमा १ , मनाङ्गमा २ , मुस्ताङ ५ , म्याग्दि ६ , लमजुङ्ग २० , स्याङजा १० वटा गरि जम्मा १२५ होमस्टेहरु सञ्चालनमा रहेका छन् । जसमा थारु, बोटे, गुरुङ , बाहुन, मगर तथा दराइ र सामुदायिक होमस्टेहरु पर्दछन् । यि होमस्टेहरुले आफ्नो स्थानिय स्तरमा भएका खाद्य तथा पेय पदार्थहरुको विक्रि गरिरहेका छन् भने सेवा दिइरहेका छन् । यसरी नै भएका होमस्टेहरुलाइ प्रर्वद्धन गर्ने र अझै थप गर्नका लागि समुदायलाइ प्रेरित गर्ने गर्नुपर्दछ । नयाँ होमस्टेहरु सञ्चालन गरि अबको ५ वर्षमा करिब ३०० होमस्टे पुराउने लक्ष्य र योजना अनुरुप प्रदेश सरकार अघि बढ्नु पर्दछ ।

जलविद्युत

जलविद्युत नेपालको विकास तथा रोजगारीका लागि विर्सन नसकीने र विर्सन नहुने क्षेत्र हो । गण्डकी प्रदेशमा कालिगण्डकी , मस्र्याङदी , गण्डक थापाखोला , म्याक्दुखोला , मोदि , आधिखोला , सेति , फेवा , दरौदि , तातोपानि , खुदिखोला , स्युरीखोला , मिदिम , दरम खोला , चादिखोला लगाएतका थुप्रै ठाउबाट विद्युत उत्पादन हुदै आइरहेको छ । अझै क्षमता भए जति सञ्चालन हुन् सकिरहेका छैनन् भने कैयौँ खोलाहरु त्यतिकै खेर गइरहेका छन् । प्रदेश सरकार र संघिय सरकारले मिलेर पहल गरेको खण्डमा रोजगारीको अवसर त सिर्जना हुन्छ नै त्यो भन्दा पनि ठुलो देशले विकासको लागि विद्युत विक्री समेत गर्न सक्दछ । लगानीका कमी र ढिलासुस्ति कामका कारण यस्ता योजनाहरु अलपत्र अवस्थामा छन् ।

प्रोत्सानको कमी ,मान्छेले के भन्छ भन्ने सोँच , युवाहरुको बढ्दो वैदेशिक मोह , भ्रष्टाचार , घुसखोरी , अस्थिर राजनितिक अवस्था , बढ्दो वैदेशिक प्रभाव ,कुनै पार्टिको झण्डा बोक्नु पर्ने बाध्यता , महंगो ब्याजदरको ऋण , प्राविधिक शिक्षाको कमी , भौतिक पुर्वाधारहरुको विकास नहुनु , प्रचारप्रसारको कमी , लगानीको अभाव , सरकारले निति निर्माण गर्न नस्कनु लगायतका तमाम समस्या तथा चुनौतिहरु रहेका छन् । यसका बाबजुद पनि धेरै सम्भाबनाहरु रहेका छन् । जसमध्ये केहि सम्भावनाहरु माथि उल्लेख गरिएका छ । यित केहि उदाहरण मात्र हुन् गण्डकी प्रदेशमा युवा स्वरोजगारका थुप्रै सम्भावनाहरु रहेका छन् । उल्लेखित सम्भावनाका क्षेत्रहरुमध्ये कुनै पनि क्षेत्रलाइ प्रदेश सरकारले विशेष महत्व दिएर एक वर्षिय , दुइ वर्षिय , तथा पञ्चवर्षिय योजना बनाएर अघि बढेको अवस्थामा नेपाल बाट कोहि युवाहरु पनि विदेशिनुपर्ने अवस्था आउदैन् स्वदेशमा नै रोजगारीका अवसर पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ जसका लागी एनआरएनए सँग पनि ठुलो सहयोग लिन सकिन्छ । विभिन्न चुनैतिहरु विद्यमान भएपनि चुनौतिहरुलाइ आत्मसात् गर्दे अघि बढ्नु पर्छ । होस्टेमा हैसे गर्ने सरकार र युवाहरुको साथबाट हामी छिट्टै विकासको दिशामा फड्को मार्न सक्छौँ । यसका लागि दिर्घकालिन सोच राखी निति नियमहरु निर्माण गरि अघि बढ्न जरुरी छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.