www.tandavnews.com
Fact ~ In search of truth

महाधिवेशनको संघारमा नेपाली कांग्रेसः मतदानबाट वञ्चित हुँदा कास्की कार्यकर्ता असन्तुष्ट

जीवन सुवेदी
पाेखरा/ताण्डव

नेपाली काँग्रेसले विधान नै परिवर्तन गरी आगामी चौधौँ महाधिवेशनका लागि क्रियाशिल सदस्यको अधिकार कटौती गरिएकोमा कास्कीका काँग्रेस नेता कार्यकर्ताहरुमा असन्तुष्टि बढेको छ ।

वर्षौदेखि वडा कार्यसमिति र गाउं, नगर, उपमहानगर, महानगर कार्यसमितिको चयन क्रियाशील सदस्यबाट नै मतदान गरेर निर्वाचित हुने व्यवस्था भएपनि अहिले कोरोना महामारीका कारण त्यासो हुन नसकेपछि कार्यकर्ताहरुमा असन्तुष्टि पैदा भएको हो ।

Batas

क्रियाशिल सदस्यतापार्टीको निर्णय लागू भएको अवस्थामा गाउं/नगर/उपमहानगर/महानगर कार्यसमितिको सभापतिका उमेदवार बाहेक अन्य उमेदवारहरुले आंफैलाई समेत मत दिन नपाउने अवस्था आउंने भएकोले पनि असन्तुष्टी बढेको पोखरा महानगरको सभापती पदका आकांक्षी गंगाधर पराजुलीले बताए । ‘उमेदवार आंफैले आंफुलाई मतदान गर्न ईच्छा लागेर क्षेत्रीय प्रतिनिधी बन्न खोजे अरु मतदाताको चित्त दुख्ने र प्रतिनिधि नबनेमा आंफैलाई समेत मत दिन नपाउने अवस्था रहनु दुर्भाग्यपूर्ण हो !’ उनले ताण्डवसंग भने । काँग्रेसको यस्तो निर्णयले गाउँ/नगर कार्यसमितिको निर्वाचनमा पनि आम कार्यकर्ताबीच लोकप्रिय र सक्षम तथा प्रभावशाली उमेदवारको सट्टा गुट उपगुटमा मात्र विश्वास गर्ने उमेदवारलाई सहयोग पुग्ने पराजुलीको धारणा छ । आम क्रियाशील सदस्यहरुले बिगतमा प्राप्त गरेको मतदानको अधिकारबाट बन्चित गर्न नहुने उनले बताए ।

उसो त कतिपय नेता कार्यकर्ताहरुले बढ्दो असन्तुष्टिलाई सामाजिक सञ्जालमै छताछुल्ल पारेका छन् । काँग्रेसको महाधिवेशनमा क्रियाशिल सदस्यको अधिकार कटौतीबारे डम्बर अधिकारी लेख्छन ‘एउटा नवजात शिशुको गला निमोठेर हत्या गरिनु र काँग्रेसका क्रियाशिल सदस्यलाई गाउँ तथा नगरको नेतृत्व चयनको अबसरबाट बञ्चित गरिनुमा कुनै भिन्नता छैन । जय नेपाल ।’ उनको उक्त भनाईमा धेरैले समर्थन जनाउँदै कमेन्ट गरेका छन् । यस विषयमा आएका अधिकांस प्रतिक्रियामा पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरिएको छ । कतिपयले यस्तो निर्णयलाई पार्टीले ‘निरंकुशता‘ लादेर कार्यकर्तालाई ‘दाश’ बनाउन खोजेको उल्ल्ेख गरेका छन् ।

तर वतर्मान अवस्थामा पार्टीको उक्त निर्णयलाई मानेर जानुको विकल्प नभएको कास्की काँग्रेसका सभापती कृष्ण केसीले बताए । ताण्डव न्यूजसंग कुरा गर्दै केसीले समय र परिस्थिती अनुसार सबै गम्भीर बनेर पार्टीको महाधिवेशन गर्नुपर्ने बताए । प्रतिनिधिमूलक ढंगबाट नेतृत्व छनौट गर्नुपर्ने अहिलेको बाध्यता भएको उनले बताए । ‘काँग्रेस अहिले सत्ता पक्ष हो, बढ्दो महामारीमा स्वास्थ्य मापदण्ड पालना गराउनुपर्ने ठाउँमा काँग्रेस छ’ उनले भने ‘आफै सरकारमा भएर मेरो पार्टीको महाधिवेशन छ भीडभाड गर्न पाउनुपर्छ भनेर त भएन नि’ ।

असामान्य अवस्थामा महाधिवेशन हुन लागिरहेकाले सबै क्रियाशिल सदस्य, नेता कार्यकर्ता एकजुट हुनुपर्ने सभापती केसीले बताए । ‘स्थानीय तहको महाधिवेशन पनि गर्नै पर्ने, कोभिडको महामारीबाट पनि जोगिनै पर्ने अवस्थाका कारण यस्तो अवस्था आएको हो यसमा कसैले चित्त दुखाउने वा वा खुसी हुने भन्ने हुँदैन’ उनले भने ‘पार्टीले नियतवश नभई बाध्यतावस यस्तो निर्णय लिएको हो ।’ यस्तो निर्णयले पार्टीमा गुट उपगुट हावी हुन्छ भन्छन नि भन्ने ताण्डव न्यूजको प्रश्नमा सभापती केसीले गुट उपगुट केन्द्रमा भएपनि स्थानीय तहसम्म नहुने जिकिर गरे ।

कास्की काँग्रेसका प्रवक्ता नविन सिग्देलले पनि पार्टीले निर्णय गरिसकेपछि निर्णय मानेर जानुको विकल्प नभएको बताए । ‘माथिबाटै एकखालको निर्णय भएर आईसकेपछि हामीले त्यसलाई मानेर जानुपर्छ भन्ने नै हो’ उनले भने ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन प्रक्रिया यहि भदौ १८ गतेदेखि सुरु भएर मङ्सिर १३ मा केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि पूरा हुनेछ । गत श्रावण ३१ गते शनिबार सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत् रूपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको थियो ।

२०७२ साल फागुन २०-२३ मा भएको १३औँ अधिवेशनबाट निर्वाचित सभापतिमा शेरबहादुर देउवा र अन्य पदाधिकारी हाल बहाल छन् । नेपाली काँग्रेसको विधान, २०१७ (नवौँ संशोधनसहित) को धारा १७ को उपधारा (१) मा पार्टीको महाधिवेशन प्रत्येक चार वर्षमा हुने व्यवस्था छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.