www.tandavnews.com
Fact ~ In search of truth

व्यवसायी थापा र गापा अध्यक्ष मल्लबीच लेनदेन मुद्दाः मल्ललाई पक्राउ गरेर जेल पठाउन प्रहरीलाई अदालतको आदेश

पाेखरा/तण्डव न्यूज

कास्की जिल्ला अदालतले पर्वत जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।

अदालतले मल्लविरुद्ध अघिल्लो वर्षको चैत २७ गते फैसला गरे अनुरुप ६ महिना जेल सजाय भुक्तान गराउन पक्राउ गरी कारागार पठाउनु भनि यही साउनको ३१ गते पत्राचार गरेको हो । अध्यक्ष मल्लविरुद्ध पोखराका व्यवसायी ध्रुबबहादुर थापाले लेनदेन मुद्दामा अदालतसमक्ष निवेदन गरेका थिए । पत्रको बोधार्थमा जिल्ला प्रहरी कार्यालय कास्की उल्लेख गरिएको छ । तर, कास्की प्रहरीले भने पत्र नआइसकेको जनाएको छ ।

Batas
कास्की जिल्ला अदालतको आदेश

अटोमोबाइल व्यवसायी थापाबाट १० वर्ष अघि किनेको गाडीको थप रकम एवं किस्ता भुक्तानी नभएपछि मल्लविरुद्ध मुद्धा चलाइएको हो । यस विषयमा गापा अध्यक्ष मल्लले आफु जमानीमात्रै बसेको र मुद्धा चलाएकोबारे अनभिज्ञ रहेको बताए । ‘कहिले अदालतमा मुद्धा गयो केही थाहा थिएन’ मल्लले भने ‘एकैपटक पक्राउ पुर्जी आएको भन्ने सुने, यसबाट म माथि अन्याय भयो ।’

साथीले गाडी किन्दा जमानीमात्रै बसेको भन्दै उनले पैसा तिर्नुपर्ने बताए । हालसम्म आफुले कतै, कुनैपनि बेइमान नगरेको भन्दै उनले आजै करिब २० लाख रुपैयाँ थापाको बैंकखातामा जम्मा गरेको उल्लेख गरे । ‘म राजनीति गर्ने मान्छे हुँ, म कतै भाग्ने होइन’, मल्ल भन्छन् ‘तर अड्डा अदालत जाने कामले मेरो अनाहकमा बदनामी गर्ने काम भयो ।’ सुरुमा गाडी किन्दा १० लाख रुपैयाँको जमानी बसेको मल्लले स्वीकारेका छन् ।

‘म पोखरा आउँदैछु, जमानी बसे अनुसार रकम आजै भुक्तान हुनेछ’ मल्लको गुनासो छ ‘एक्कासी अदालत गएर अनावश्यक खेल खेलियो ।’ अदालतको प्रक्रियामा वकिलसँग बसेर छलफल गर्ने उनले जानकारी दिए ।

व्यवसायी थापाले पनि रकम जम्मा भएको खबर पाएको बताएका छन् । लामो समयसम्म पैसा नआएपछि अदालत गएको थापा बताउँछन् । ‘पैसा जम्मा गरिदिएका छन्, खासै ठूलो विषय होइन’ थापाले भने । यद्यपि, मल्ल जमानी बसेको नभई लोनमा रहेको गाडीे सकारेपछि उनीविरुद्ध लेनदेनमा मुद्दा चलाइएको थापाले जनाए ।

व्यवसायी थापा अटोमोबाइल्स डिलर्स एशोसियसनको केन्द्रीय अध्यक्षमा चुनाव लड्दैछन् । त्यस्तै, गाउँपालिका अध्यक्ष मल्ल नेपाली कांग्रेस पर्वतका कोषाध्यक्षसमेत हुन् । आगामी महाधिवेशनमा मल्ल सभापतिको दाबेदारीमा रहेका छन् । गृहमन्त्री बालकृष्ण खाँडका नजिक मानिने मल्ललाई अधिकांशले प्रधानमन्त्री शेरबहादुर देउवाको ‘सालो’ भनेर चिन्छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.