www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस नेता र विश्लेषक भन्छन्ः एमालेको फुट अनुपयुक्त र असान्दर्भिक, टुक्रनु कसैको हितमा छैन

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

नेपाली राजनीतिको ईतिहास केलाउँदा दलहरु गुट र फुटमा नलागेका कमै भेटिन्छन् । सैद्धान्तिक विचारमा नभई पदको भागबन्डा र व्यक्तिवादी हावीका कारण पार्टी फुटेका घटना थुप्रै छन् ।

२०५९ सालमा नेपाली कांग्रेस फुट्यो । सशत्र विद्रोहबाट जन्मेको नेपाल कम्युनिष्ट पार्टी माओवादी दोस्रो संविधानसभा पश्चात टुक्राटुक्रा भयो । जनता समाजवादी पनि विभाजन भयो । र, अहिले खड्गप्रसाद ओलीसँग माधवकुमार नेपाल फरक नेतृत्व सहित एमालेबाट अलग्गिएका छन् । जुन बहसको विषय बनेको छ ।

Batas

माधवकुमार नेपाल नेतृत्वमा नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगमा दर्ता गरेपछि यतिबेला नेपाली राजनीतिमा तरंग फैलिएको छ । फुटलाई अस्वाभाविक मानिएको छ । किनभने सैद्धान्तिक नभई व्यक्तिवादी हावीका कारण नेकपा फुटेको प्रष्ट देखिएको छ । कुनै पनि पार्टी व्यक्तिवादीका कारण कित्ताकाट हुनु जनपक्षीय नभएको नेताहरु बताउँछन् ।

नेपाली कांग्रेसका कास्की सभापति कृष्ण केसीले ताण्डव न्यूजसँग कुरा गर्दै नेकपा एमालेको फुट दुखद रहेको बताए ।  ‘नेपालको राजनीतिक व्यवस्था कुनै पार्टी विशेष र विचार र आस्थाको आन्दोलनले मात्रै परिवर्तन भएको होईन यो सबै प्रजातान्त्रिक विचार मान्ने या वामपंथी विचार बोकेका नागरिक बुद्धिजीविको संयुक्त आन्दोलनबाट प्राप्त राजनैतिक व्यवस्था हो’, उनले भने ‘त्यसैले शान्ति, समृद्धि र विकासको लागि सबै राजनैतिक पार्टीको एकता अहिलेको पनि आवश्यकता हो । तर पार्टी भित्र एकले अर्काेलाई कमजोर बनाउँदा मात्रै आफ्नो पार्टीको भविष्य देख्ने जुन कुरा हावी भयो यसले देश र जनताको भावना अनुसार काम गर्न सक्दैन ।’

उनले सबै पार्टी मिलेर देशको विकासमा लाग्नुपर्ने समयमा एकले अर्काेलाई फुटाउने षडयन्त्र हावी भएको तर्क राखे । ‘सबै मिलेर विकास गर्ने भन्दापनि एकले अर्काेलाई फुटालेर शासन गर्ने कुरा जुन हावी हुदै आयो यो राम्रो होईन, केसीले भने, अहिले जुन एमालेको विभाजन भयो यो कुनै पनि हालतमा उपयुक्त, सान्दर्भिक र सही छँदैछैन ।’

सभापति केसीले अध्यादेशको कारण पार्टी फुटाईएको आरोप गलत रहेको बताए । ‘यो गलत छ । बाहिर देख्दा प्राविधिकरुपले अध्यादेश ल्याएको साँचो हो । त्यो अध्यादेशमा टेकेर पार्टी विभाजन भो त्यो पनि साँचो हो, केसीले थपे, ‘तर एमाले विभाजन हुने अवस्था र दुई तिहाईको नजिक पुगेको सरकार सत्ताच्युत हुनु र पछिल्लो समय अध्यादेश ल्याउन पर्नुको कारण चाँही को हो ? भन्दा एमालेको अध्यक्ष ओली नै हो ।’

केसीले समग्र राष्ट्रको दृष्टिकोणमा पार्टी विभाजन हुनु हानिकारक रहेको टिप्पणी गर्दै भने, ‘पार्टी फुट्नु, विभाजन हुनु, अलग हुनु यो देश र जनताको, संघीयताको लोकतन्त्र र गणतन्त्रको पक्षमा यो छैन । यो राम्रो होईन ।’

सभापती केसीले राजनीतिमा जितेर मात्रै फाईदा नहुने बताए । ‘राजनीतिमा जितेर मात्रै फाईदा नहुदोरैछ । हारेर पनि फाईदा हुने रछ भन्ने कुरो त हामीले यही संसद भित्रै भोग्यौ, उनले भने, ‘नेपाली कांग्रेसले यति नराम्रोसँग हार्याे र कल्पनै नगरेको करिब दुईतिहाईको मत ल्याएको नेकपाले ५ वर्ष सत्ता चलाउन सकेन ।’ उनी भन्छन् ‘५ वर्षभित्र सरकारम जान कल्पना नगरेको कांग्रेस सत्तामा गयो भने हामीलाई फाईदा हुन कुनै पार्टी फुट्नै पर्दैन ।’

उनले नेपाली कांग्रेस बलियो हुन प्रतिपक्ष पार्टी विभाजन हुन आवश्यक नरहेको बताए । ‘हामी लोकतन्त्रवादी हो, प्रजातन्त्रवादी हो नेपालको सबै आन्दोलको नेतृत्व कांगे्रसले गरेको हुनाले हामी बलियो हुन कुनैपनि पार्टी विभाजन हुन जरुरत नै छैन । तर प्राविधिक रुपमा हेर्दा सरकार बनाउने गणितिय हिसाबमा ठुलो पार्टी विभाजन हुनु स्वभाविक हो, केसीले थपे, ‘एमाले भित्र विवाद नभएको भए कांग्रेस सत्तामा गणितिय हिसाबले जान सक्दैनथ्यो । सैद्धान्तिक र वैचारिक हिसाबले यो बाटो गलत छ । तर सरकार बनाउने गणितिय हिसाबमा र जोडघटाउमा यो सहि छ ।’

त्यसैगरी नेपाली कांग्रेसकी महिला नेतृ सरस्वती गुरुङले नेकपा एमालेको फुट दुखद रहेको बताईन् । ‘नेकपा एमालेमा दुई धार हुनु एकदमै दुखद छ’, उनले भनिन्, ‘कुनै पनि पार्टीको व्यक्तिवाद हावी हुँदा र समान अधिकार र अपनत्व महसुस नहुदा दुई भन्दा बढी पार्टी हुने सम्भावना हुन्छ ।’

नेतृ गुरुङले कुनै पनि पार्टीमा व्यक्तिवादी हावी हुन नहुने प्रतिक्रिया दिईन् । ‘यस्तो खालको हावी कुनै पनि पार्टीमा हुनुहुदैन । केपी ओलीले चलाएको एमाले जुन छ त्यो व्यक्तिवादी एमाले भएको छ, उनले भनिन्, ‘यस्तो चरित्र कतै नहोस यो दुखद त दुखद नै हो तर जबसम्म समान अधिकारको महसुस हुदैन त्यो बेला दुईता मात्रै होईन ३ वटै पनि हुने सम्भावना रहन्छ ।’

गुरुङले प्रतिपक्ष पार्टी बलियो हुनुपर्ने बताउदै भनिन्, ‘हामीसँगै लडेको पार्टी एकदमै शक्तिशाली होस् हामीसँगै हिड्न सकुन तबमात्रै लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र बलियो हुन्छ । तर हामीसँग प्रतिस्पर्धामा हुने पार्टीहरु कमजोर हुनु भनेको दुखद हो । व्यक्तिवादी हावी थियो त्यसको अन्त्य हुनु थियो । त्यसको लागि प्रतिस्पर्धा गर्ने नेकपाको साथीहरुलाई बधाई तथा शुभकामना दिन चाहान्छु ।’ उनले थपिन् ।

के भन्छन् राजनीतिक विश्लेषक ?

कुनै पनि पार्टी विभाजनले प्रतिपक्ष पार्टीलाई दिगो फाईदा नहुने राजनीतिक विश्लेषक विश्व सिग्देलले बताए । ‘कांग्रेस बलियो हुने भनेको आफ्नै क्रियाकलापले बलियो हुने हो । प्रतिपक्ष कमजोर भएर कांग्रेस बलियो हुने हैन । त्यस्तो सपना कसैले पनि नदेखे हुन्छ । उदाहरण दिदै उनले भने, ‘जस्तो कांग्रेस फुट्यो भने कम्युनिष्टले म बलियो भए भन्ने अथवा कम्युनिष्ट फुट्यो भने कांग्रेस बलियो भयो भन्ने यो कहिल्यै हुन सक्दैन । एकैछिन मात्र त्यस्तो देखिने हो ।’

समयक्रमसँगै फुट गलत देखिने भन्दै उनले हाल कांग्रेसले एमालेको फुटमा जीत र कुनै स्वार्थ राख्छ भने त्यो केवल दिवास्वप्नमात्र भएको उनको टिप्पणी छ । विश्लेषक सिग्देलले पार्टीले जित्नको लागि संगठन नै बलियो हुनुपर्ने तर्क राखे । ‘कांग्रेसले जित्नको लागि आफ्नो संगठन बलियो बनाउन पर्याे । कार्यकर्तालाई एकजुट राख्न पर्याे । वैचारिक हिसाबमा जनतालाई गोलबन्द गर्दै लानपर्याे । त्यो नगर्ने अनि अर्काे फुट्ला र हामी बलियो हुम्ला भन्ने त सोच्नै भएन, उनले भने, ‘त्यसकारण एमाले फुटेर कांग्रेसलाई फाईदा हँुदैन । अरुको घर होचो भएर आफ्नो घर अग्लो हुदैन । आफ्नो घर नै अग्लो हुनुपर्छ ।’

उनले नेकपा एमालेको फुटलाई व्यक्तिवादी हावीका कारण विभाजन भएको भन्दै अस्वाभाविक रहेको प्रतिक्रिया दिए । ‘यो फुट चाँही अस्वाभाविक हो । यो सैद्धान्तिक र नीतिगत फुट भन्दापनि (समाज, राष्ट्र र अन्तर्राष्ट्रिय राजनीतिलाई हेरेर गर्ने फुट भन्दापनि) तैले कति खाने, मैले कति खाने भन्ने फुट भएको हो, उनले भने, ‘यो त कम्युनिष्टलाई मात्रै भन्ने कुरो छैन । कांग्रेसमा पनि यथावत छ ।’

‘भोली कांग्रेस फुट्यो भने पनि केही आश्चर्य मान्नुपर्दैन । यसलाई मैले ‘नेचुरल प्रोसेस’ र स्वाभाविकरुपमा हेरेको छु’ सिग्देलको टिप्पणी छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.