www.tandavnews.com
Fact ~ In search of truth

कोरोना कहरकाबीचमा मर्दी पदयात्रा मार्गको स्तरोन्नति

वासुदेव पौडेल

मर्दी हिमाल पदयात्रा मार्गमा कोरोना कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रुपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम अघि बढेको हो ।

पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यकोसमेत चासो पुगेको यस पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नति अन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यु प्वाइन्टसम्म ४ हजार २ सय सिँढी निर्माण गरिएको छ भने २ सय ५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ ।

Batas

कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्छ ।

त्यस्तै पदमार्गका विभिन्न अप्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयो । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएको बताउँदै उनले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइँमा परेको बताए ।

प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको बताउँदै गौतमले कोरोना कहरका कारण यस क्षेत्रको पदयात्रा पनि प्रभावित बनेको बताए । गुराँस फुल्ने जंगलैजंगल चराचुरुंगीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्ने र चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ«े, मर्दी, अन्नपूर्ण साउथ, गंगापूर्णजस्ता हिमाललाई एकसाथ अवलोकन गर्न सकिन्छ ।

चाँडै नै कोरोना कहरको अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा एवं विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायीहरु रहेको गौतमले बताए । गौतमका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अस्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फरेस्ट क्याम्प, बादलडाँडा, मर्दीहाइक्याम्प हुँदै भ्युप्वाइन्टसम्म लगभग १ सयवटा होटेल रहेका छन् । यस क्षेत्रको पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सर्वप्रथम यस क्षेत्रका लगभग ४ सय व्यवसायी तथा मजदुरलाई कोरोना विरुद्धको खोप लगाउनु आवश्यक भएको उनले बताए ।

राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जंगलैजंगलबीच हिँड्ने पदमार्ग भएकाले चैत वैशाखको समयमा यहाँको सुन्दरता रमणीय हुने यहाँका होटल व्यवसायी बताउँछन् । उनीहरुका अनुसार पदयात्रा गर्दा सुरूमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायतका पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सीज एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको बताउँछन् ।

मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालक समेत रहेका सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटेल निर्माणले गति लिएको हो । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्छ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् ।

समुद्रीसतहबाट ३ हजार ५ सय ५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब २ घन्टामा ४ हजार २ सय मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट २ घन्टामा ४ हजार ५ सय मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सुरूमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ«े गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झण्डै २ घन्टाको समयावधिमा पर्यटक पोखरा पुग्छन् ।

प्रकृतिमा आधारित पदमार्गका रुपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यूप्वाइन्टसम्म ४ हजार २ सय सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदिको निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् ।

कोरोनाका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउनका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी पनि गरिएको छ । पदयात्रा क्षेत्रका मजदुरलाई पेसामा टिकाइ राख्नका लागि उनीहरूलाई बिग्रेभत्केका पदमार्ग मर्मत गर्न लगाउँदै रोजगारी सिर्जना गरी केही न केही राहत पुर्याउने लगायतका योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।

पदयात्रा पर्यटनसँग जोडिएका मजदुरलाई यस पेसामा टिकाउनु आवश्यक भएको बताउँदै उनले कोरोना कहर अन्त्य भएसँगै पर्यटन क्षेत्रले पुनः गति लिने विश्वास व्यक्त गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.