www.tandavnews.com
Fact ~ In search of truth

पशुधनको सुरक्षाका लागि कास्कीभरिका पशुचौपायालाई खोप दिइने

महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ ।

‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’ को लक्ष्यसहित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षाका लागि गाई, भैंसी, बाख्रा, बंगुर र भेडामा यस वर्ष पूर्ण खोप कार्यक्रम सञ्चालनको योजना बनाएको छ ।

गत वर्ष माछापुच्छे« र रुपा गाउँपालिकामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिएकोमा यस वर्ष पोखरा महानगरपालिका, मादी र अन्नपूर्णमा पूर्ण खोप कार्यक्रम सञ्चालनको कार्यक्रम अघि बढाइएको भेटेरेनरी अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताए ।

Batas

उनका अनुसार यसअघि पूर्ण खोप पालिका घोषणा भएका माछापुच्छे« र रुपामा समेत थप भएका पशुमा पुनः खोप दिइनेछ । खोप कार्यक्रममा महामारी रोगविरूद्ध भैंसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बंगुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप दिइने छ । ‘महामारीजन्य र जुनोटिक (मानव र पशुपक्षीबीच एकापसमा सर्ने) रोग नियन्त्रण गरी रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा गर्न पशुमा खोप लगाउनु महत्वपूर्ण छ’, प्रमुख डा शर्माले भन्छन्, ‘सबैको सहयोगबाट कास्कीलाई नै पशुमा पूर्ण पशु खोपयुक्त जिल्ला बनाउने योजनामा छौं ।’

खोप अभियान सञ्चालका लागि सुरुआतमा पशु तथ्यांक संकलन, खोपको महत्वका बारेमा प्रचारप्रसार, खोप खरिद तथा भण्डार र खोपकर्ता छनोट गरी अभिमुखीकरणपछि खोप कार्यक्रम सुरु हुनेछ । यसैगरी खोप लगाउँदा गाई, भैंसी र बंगुरलाई कृषकका सम्बन्धित गोठ र फार्ममा नै पुगेर लगाइने तथा भेडा, बाख्रा र कुकुरका लागि निश्चित स्थान तोकिने कार्ययोजना छ ।

खोप कार्यक्रम सम्पन्न भएपछि पशुको शरीरमा विकास भएको प्रतिरोधात्मक क्षमता परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार भएमा पूर्ण खोपयुक्त घोषणा गरिने कार्यालयले जनाएको छ ।

पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ ।

भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रायलका सचिव सवनम शिवाकोटीले ३ वर्षभित्रमा प्रदेशका ८५ वटै स्थानीय तहमा पशुको पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । उनका अनुसार मानव स्वास्थ्य, पशु अधिकार र समृद्धिका लागिसमेत खोप महत्वपूर्ण रहेको बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.