www.tandavnews.com
Fact ~ In search of truth

फेवातालकाे झल्को आउने देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

शंखर पहाडी
सर्लाहीको बाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब २ किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

नगर प्रमुख थापाको विशेष पहलमा करिब १ सय २१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् ।

Batas

बिदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ ।

नगरपालिकाभित्रका करिब १ हजार २ सय बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण सुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । उनकाअनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्वपूर्ण स्रोत बन्न सक्छ ।
यस ताललाई व्यवस्थित गर्दै बगैंचा, पार्क र वनभोजस्थलका रुपमा पनि विकास गरिने योजना नगरपालिकाकोे छ । यहाँ मोटरबोट सवार भएर केही समय घुम्दा पोखराको फेवाताल जत्तिकै मनोरञ्जन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले बताए ।

बिदाका दिन आफू पनि मनोरञ्जन गर्न तालमा घुम्न आउने गरेको र गर्मी मौसममा तालमा बोट चढेर घुम्दा पोखराको फेवातालको झल्को मेटिने गरेको उनको अनुभव छ । अझै तालका बीचमा बन्दै गरेको रिसार्ट ‘होटल प्यालेस’ ले रानीपोखरी र पोखराको फेवातालबीचमा रहेको ‘ताल बराही’ को याद आउने उनले बताए ।

अझ मानवनिर्मित यस ताल टिकटक बनाउने ठाउँका रूपमा समेत प्रख्यात हुँदै आएको छ । यहाँ आउने करिब ९० प्रतिशत पर्यटकले रमणीय वातावरण देखेर टिकटक बनाएर फर्किने गरेका छन् । कलकल बग्ने बाग्मती नदी र छेउमा बन्दै गरेको रेलको लिगले हरेक पर्यटकको मन लोभ्याउने गर्छ । यस तालको हालसम्मको कूल लागत करिब रु ३० करोड अनुमान गरिएको भए पनि लागत खर्च सार्वजनिक गरिएको छैन ।

सोही तालको अध्ययन अवलोकन भ्रमणमा आएका तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बाग्मती नगरपालिकाका नगरप्रमुख थापासँग भेट गरी पर्यटन क्षेत्रको विकासका विषयमा छलफल गरेका छन् ।

सो तालमा ‘नेपाल सिट एन्ड बोट बिल्डिङ’ कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेटबोट नामका मोटरबोट सञ्चालन हुने नेपाल सिट एन्ड बोट बिल्डिङ कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.