www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका व्यवसायीले पाए खोप

अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायीलगायतले खोप लगाएका हुन् । कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतिक्षामा छन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले ६ सयभन्दा बढी व्यवसायीले खोप लगाइसकेको जानकारी दिए । ‘व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने प्रबन्ध गरिएको छ’, उनले भने, ‘सञ्चालकलाई मात्र नभएर व्यवसायमा आबद्ध कर्मचारी र कामदारका लागि पनि खोप माग गरेका छौं ।’ अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराइएको अध्यक्ष राजभण्डारीको भनाइ छ । संघले जिल्ला खोप समन्वय तथा अनुगमन समितिसँग मिलेर व्यवसायीलाई खोप दिलाउन पहल गरेको थियो ।

यसअघि होटल तथा रेष्टुराँ व्यवसायी संघलगायत व्यवसायीका संघसंगठनले खोप पाउनुपर्ने माग गर्दै आएका थिए । पहिले छुटेका अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई आजदेखि खोप लगाउन थालिएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । सञ्चालकको व्यवसाय दर्ता प्रमाणपत्र र सक्कल नागरिकताका आधारमा खोप दिइएको उनको भनाइ छ । व्यवसायीसँगै पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिलाई यही भदौ ८ र ९ गते दोस्रो खोप लगाइने भएको छ ।

Batas

यस्तै खोप लगाउन छुटेका वित्तीय संस्थाका कर्मचारी, स्नातक र स्नातकोत्तर तहको परीक्षामा सहभागी हुने विद्यार्थी तथा कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो खोप लगाउन बाँकी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि खोप दिन सुरु गरिएको छ । यहाँका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालित छ । स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर राजु खत्रीका अनुसार हालसम्म ५९ हजार ९ सय ३५ ले पहिलो र ४७ हजार ९ सय ७ ले खोपको दुवै मात्रा लगाएका छन् । अझै करिब १ लाख जनसंख्यालाई खोपको पहुँचमा ल्याउन बाँकी रहेको सुपरभाइजर खत्रीको भनाइ छ ।

खोप अभियानकै बीचमा कोरोना संक्रमणको जोखिम बढेपछि जिल्लामा अहिले कडा निषेधाज्ञा छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सबै सेवा क्षेत्र, बजार, व्यवसाय र यातायात बन्द छन् ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.