www.tandavnews.com
Fact ~ In search of truth

अपहरणमा परेका २ युवकलाई ३ दिनपछि भारतबाट उद्धार

अपहरणमा परेका २ युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको ३ दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ ।

उद्धार गरिनेमा हेटौंडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन् । दुबै जनालाई सकुसल उद्धार गरी आज परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

Batas

प्रहरीका अनुसार, उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौंडा बसपार्कबाट ३ जना भारतीय नागरिकले अपहरण गरेका थिए । अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गराएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले अपहरणमा संलग्न २ जनालाई २ थान हतियारसहित नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक रिमालले भने, ‘अपहरण मुक्त भएका दुवै युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । अपहरण गर्नेहरु पनि चिनजानेकै हुन् । अपहरण भएको दिन उनीहरु सँगै बसेर कुराकानी भएको देखिएको छ ।’ उनका अनुसार अपहरणकारीले उनीहरुसँग प्रतिव्यक्ति रु ५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । फिरौती नपाए मिर्गौला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ । भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्धार गरिएको उनको भनाइ छ ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.