www.tandavnews.com
Fact ~ In search of truth

‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्दै विद्युत् प्राधिकरण

सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ ।

सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढंगले अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले ‘उज्यालो सहर अभियान’ लाई तीव्रता दिने भएको छ । त्यसका लागि विभिन्न नगरपालिकाकोे समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त अत्याधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने योजना तय भएको प्राधिकरणले जनाएको छ ।

यस्तो योजना कार्यान्वयनमा आएपछि सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो योजना सुनाए । अघिल्लोपटक विद्युत्भार कटौतीको अन्त्यका लागि नेतृत्व गरेका घिसिङको ध्यान यसपटक सबैलाई गुणस्तरीय बिजुली र विद्युत् खपत बढाउने रहेको छ ।

Batas

यस्तै अभियानमा सहरी क्षेत्रमा रहेका अनावश्यक खम्बा तथा तार हटाइन्छ । मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायत काम अगाडि बढाउन लागिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । पहिलोचरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेसनको क्षमता बृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई बिस्तार गर्दै लैजाने घोषणा गरेका थिए । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको जनाएको छ ।
सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरू जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छ । विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ ।

‘सहरलाई कुरूप बनाएका विभिन्न सेवा प्रदायकको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिनेछ । यसले सौन्दर्यको बृद्धि एवं सफा सहर पनि बन्नेछ’, घिसिङले भने, ‘हाल भइरहेको जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हट्दा दुर्घटनाको जोखिम पनि कम हुने र सहरी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरमा विस्तार गरिनेछ ।’

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रोचरणमा काठमाडौंका बाँकी रहेका ठाउँहरू, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढनेछ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केवल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्ने छन् ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.