www.tandavnews.com
Fact ~ In search of truth

२० हजार स्वास्थ्यकर्मी थप्नुपर्छः राज्यमन्त्री उमेश श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा उनले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताए ।

गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्लीगल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गरेका थिए । उनले भने, ‘समस्या के हो जानकारी दिनुहोस् ५ / १० करोड बजेटको समस्या हुँदैन ।’

उनले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताए । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करिब ५ करोड ५० लाख खोप आवश्यक रहेकामा ५ करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै उनले भने, ‘हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नुपरेको छ ।’ सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उनले केही दिनमा पिसिआर र एन्टिजेन परीक्षणलाई पूर्णरुपमा निशुल्क गर्ने योजना रहेको जानकारी दिए ।

Batas

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब २ गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकोमा सो हुन नहुने धारणा व्यक्त गरे ।

भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्राडा कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताए । उनले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटाँैडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पु¥याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभई अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताए ।

भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गरेका थिए । उनले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.