www.tandavnews.com
Fact ~ In search of truth

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । १७ खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरमा ओमानका लागि उडेको हो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट संघ ‘क्यान’ का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले बिदाइ गरेका थिए । ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो ।

यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छन् । ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २÷२ खेल खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित २ एकदिवसीय खेल खेल्ने तय भएको क्यानका अध्यक्ष चन्दले जानकारी दिए ।

Batas

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् ‘युएई’ रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । नेपालले ४ खेलमध्ये २ मा जित तथा २मा हार व्यहोर्दै ४ अंक जोडेको छ । नेपाल आफ्नो समूहको अंक तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै ओमान १० खेलमध्ये ८ मा जित र २ मा हार व्यहोर्दै १६ अंकसहित शीर्षस्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड ८ खेलमा ४ मा जित र ३ मा हारका साथ ९ अंक जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार व्यहोर्दै ८ अंकसहित चौथो स्थानमा छ ।

यसैगरी युएई ७ खेलमा ३ मा जित र ३ मा हारका साथ ७ अंक जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका ८ वटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अंकविहीन बन्दै लिग–२ को पुछारमा छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष ३ टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने ४ टोलीले प्लेअफ खेल्ने छन् ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.