www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा बतासको अत्तोपत्तो छैन, एमाले प्रवासले जोडिदियो दैनिक २ सय सिलिण्डर उत्पादन हुने अक्सिजन प्लान्ट

जीवन सुवेदी

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का लागि अक्सिजन प्लाण्ट स्थापनाका गर्न पोखराको प्रतिष्ठत संस्था बतास फाउण्डेसनको थालेको पहल कछुवाको चाल जस्तै भएको छ ।

कोरोना महामारी बढेपछि अक्सिजनको अभावमा छट्पटाएका बिरामीहरुको कारुणिक अवस्थालाई मध्यनजर गर्दै प्लाण्ट स्थापनाको पहल गरेको फाउण्डेशनले ४ महिना बित्दासमेत प्लाण्ट ल्याउन नसकेको हो । प्लाण्ट खरिदका लागि कम्पनी समेत छनौट गरिसकेको फाउण्डेशनले यसअघि साउनको अन्तिमसम्म प्लाण्ट आईसक्ने भन्दै प्रेस विज्ञप्तिसमेत जारी गरेको थियो । तर तोकिएको समयमा पनि प्लाण्ट आउन नसकेपछि म्याद फेरि सरेको छ ।

Batas

फाउण्डेशनका कोषाध्यक्ष एवं प्रवक्ता नारायण पौडेले भदौ महिनाको अन्तिम हप्तासम्म प्लाण्ट आईपुग्ने दाबी गरे । ताण्डव न्यूजसँग कुरा गर्दैै पौडेलले खरिद गरिएको कम्पनीकै कारण आयातमा ढिलाई भएको बताए । ‘भदौ २३/२४ भित्रमा आईपुग्ने कुरा छ’ उनले भने ‘सायद अब यहाँभन्दा ढिला नहोला ।’

आफूहरुले यताबाट आवस्यक सबै काम पूरा गरेर रकमसमेत कम्पनीलाई बुझाईसकेको पौडेलले बताए । ‘हामीले सबै प्रकृया पुरा गरी लोकल एजेण्टसँग पनि समन्वय गरेर पैसा पठाईसकेका छौँ’ उनले भने ‘पैसा लगेपछि पनि छिटो गरिदिएन, यसमा सबै दोष कम्पनीकै हो ।’ आफूहरु पनि प्लाण्ट आयातमा ढिलाई हुँदा चिन्तित रहेको पौडेलले बताए । ‘हामीले सुरु गरेको अभियानमा धेरै पोखरेली जोडिएका छन्, डोनरहरु धेरै छन्’ उनले भने ‘यो सबैको सरोकारको विषय पनि हो, सबैको चासो भईरहेको छ, हामीलाई पनि छिटो होस् भन्ने छ, हामी कोशिस गरिरहेका छौँ ।’

साथै नेपालका अन्य ठूला कम्पनीहरु ज्योति ग्रुप, हिमालयन ह्वाईट, जगदम्बा ग्रुप लगायतले समेत सोही कम्पनीबाट अक्सिजन प्लाण्ट खरिद गर्न लागेकाले सप्लायर्श कम्पनीले एकैपटक नेपाल पठाउने तयारी गर्दा ढिलाई भएको हुनसक्ने उनको भनाई थियो । त्यस्तै नेपालमा भएको सरकार परिवर्तनले पनि केही असर पारेको उनले बताए ।

अक्सिजन प्लान्ट अभियानका संयोजक एवं बतास फाउण्डेशनका अध्यक्ष आनन्द बतासको नेतृत्वमा गठन भएको तदर्थ समितिले फ्रान्सको मेडिअक्सी प्रालिलाई छनोट गरी आयात र प्लान्ट स्थापना गर्ने अर्डरसमेत गरिसकेको फाउण्डेशनले जनाएको छ । रु ३ करोड ७ लाख ३६ हजार ५ सय अग्रिम भुक्तानी गरी ५० सिलिण्डर प्रति दिन अक्सिजन उत्पादन गर्ने ३ वटा अक्सिजन प्लान्ट र १ वटा फिलर सिस्टम अर्डर भईसकेको र फ्रान्सबाट कार्गो मार्फत नेपालमा ल्याउने भनिएको छ । कोरोना महामारी बढ्न थालेसंगै फाउण्डेशनले गत बैसाख ३० गतेदेखि सहयोग शंकलन अभियान सुरु गरेको थियो ।

सुरुमा फाउण्डेशनले ‘रु १०० दान, माहामारिमा प्राण’ भन्ने नाराका २५ लाख रुपैयाँ जम्मा गरेर सुरु भएको उक्त अभियानमा धेरै पोखरेलीहरु जोडिएका छन् भने प्लाण्ट आउने आशमा प्रतिक्षा गरिरहेका छन् ।

प्रवाशी नेपाली मञ्चको सहयोगमा अक्सिजन प्लाण्ट

बतास फाउण्डेशनले प्लाण्ट स्थापना गराउने भनेर धेरै चर्चा चलिरहकै बेला उक्त अस्पतालका लागि नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चले प्लाण्ट सहयोग गरेको छ ।
मञ्चले प्रदान गरेको प्लाण्ट जडान कार्य सम्पन्न भई अक्सिजन उत्पादन समेत थालिएको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले ताण्डव न्यूजलाई जानकारी दिए । ‘प्लाण्ट जडान गरेर परिक्षण उत्पादन थालेका छौँ, उनले भने फुल फेजमा उत्पादन हुन थालेपछि पत्रकार सम्मेलन नै गरेर जानकारी दिन्छौँे ।’ डा खत्रीका अनुसार गत आईतबारदेखि प्लाण्टबाट निरन्तर अक्सिजन उत्पादन भईरहेको छ ।

प्रवासमा रहेका नेपालीले आफ्नो छाक काटेर कोभिड १९ बाट आक्रन्त नेपालीहरुलाई सहज होस भन्दै अक्सिजन प्लान्ट हस्तान्तरण गरेका थिए । मञ्चका अन्तरास्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले दिएको जानकारी अनुसार ५० मिलिक्यूबिक घनमिटर प्रतिघण्टा क्षमताको र सामान्यतय १ दिनमा २०० सिलिण्डर अक्सिजन भर्न सक्ने अक्सिजन प्लाण्ट अस्पताललाई उपलब्ध गराईएको हो ।

गत साउन ९ गते आयोजित प्लाण्ट हस्तान्तरण कार्यक्रममा पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभाका सदस्य खगराज अधिकारी, गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य पृथ्वी सुव्वा गुरुङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्री, पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलका डाईरेक्टर डा भरतबहादुर खत्री, गण्डकी स्वास्थ विज्ञान प्रतिष्ठानका डिन कृष्ण श्रेष्ठ र जिल्ला समन्वय समितिका सभापति बैन बहादुर अधिकारी लगायतको उपस्थितीमा उक्त प्लाण्ट हस्तान्तरण गरिएको उनले बताए ।

विश्वभरका ४० वटा देशहरूमा संस्थागत रुपमा स्थापित नेकपा एमाले’को प्रवास संगठन प्रवासी नेपाली मञ्चहरूको नेतृत्वदायी संगठन प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रीय कमिटीले संयोजन गरी प्लाण्ट सहयोग गरेको उनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.