www.tandavnews.com
Fact ~ In search of truth

६ वर्षदेखि मलेसियामा रहेका युवा एसइई पास भएपछि…

वैदेशिक रोजगारीमा कार्यरत १ युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अंक थपेर २.७५ जिपिए ल्याई एसईई पास गराएका विषमा छानबिन सुरु गरिएको हो ।

उक्त विद्यालयले वैदेशिक रोजगारीमा रहेको युवालाई एसईई पास गराएको विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिए ।

उनले भने, ‘एसईई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाई सकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।’

Batas

विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास भएको बताएका छन् । उनले विद्यार्थीको भौतिक उपस्थिति बिना अंक दिनुपरेको तथा अनुपस्थित लेखिनुपर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिए । कम्प्युटरमा नम्बर चढाउने समय गल्तीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए । नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उनले बताए ।

गोपालका पिता राम सन्त सोही विद्यालयको कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुन सकिने आशंका गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ सालमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी ३ सदस्यीय समिति गठन गर्ने व्यवस्था छ ।

कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसईईको नतिजामा अनियमितता गरेको स्थानीयबासीको आरोप छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.