www.tandavnews.com
Fact ~ In search of truth

निषेधाज्ञामा हिँडडुल गर्नेलाई चोकचोकमा एन्टिजिन जाँच

निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा १ जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । ‘एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्’, खनालले भने ।

यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ । एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ । लक्षण भएका व्यक्तिमा मात्र एन्टिजिनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताए । कोरोना संक्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ ।

Batas

जिल्लामा हालसम्म ३ हजार ४ सय ५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २ सय ८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । कूल परीक्षणमध्ये ७ हजार ४ सय २१ मा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या भने ३ सय ७० मात्र छ । यहाँ कोरोना संक्रमणका कारण ६५ जनाको ज्यान गएको छ । संक्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.