www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनमा जिल्लामै पहिलो स्थानमा

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

कृष्ण दवाडी

माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् ।

सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका छन् । उत्पादनका आधारमा दिइने अनुदानले साना कृषक लाभान्वित छन् । ठूला कृषकले भने आफैं बजारमा लगेर बिक्री गर्ने गर्छन् । सहकारीले कृषकले उत्पादन गरेको दूध संकलन गरी बजारमा पुर्याउने गरेका छन् । गाउँपालिकाको पशुसेवा शाखाका अनुसार गत आर्थिक वर्षमा विभिन्न ५ सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ । कृषकले उत्पादन गरेको दूध सहकारी संस्थाका माध्यमबाट बजारमा पुग्ने गरेको शाखा प्रमुख रामचन्द्र पौडेलले बताए ।

Batas

गाउँपालिकाका ३ वडामा रहेका ५ दूग्ध सहकारीले खरीद गरी बजारको सुनिश्चितता गर्दै आएका छन् । गत वर्ष भेडाबारी दूग्ध उत्पादक सहकारी संस्थाबाट २ लाख ११ हजार ८ सय ११ लिटर, हिमशिखर दूध उत्पादक सहकारी संस्थाबाट २ लाख १६ हजार ५ सय ३९, घाचोक दूग्ध उत्पादक सहकारीबाट ४ लाख २४ हजार ३ सय १७, पिपलबोट दूग्ध उत्पादक सहकारी संस्थाबाट २ लाख ३९ हजार २ सय ९० र प्रतिभा सामाजिक उद्यमी महिला सहकारीबाट ७ लाख ४४ हजार १ सय ६ लिटर दूध बिक्री भएको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

गाउँपालिकाबाट दैनिक १० हजार ६ सय लिटर हाराहारीमा दूध बिक्रीका लागि बजारमा जाने गरेको छ । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान दिँदै आएको छ । यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले गत वर्ष दूग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा रु ५ लाख वितरण गरेको थियो । सहकारीबाट कृषकले गाईको दूधको मूल्य प्रतिलिटर रु ६० का दरले प्राप्त गर्ने गरेका छन् ।

सहकारी संस्थाबाहेक पनि कृषकले आफैं बजार खोजेर दूध बिक्री गर्ने गरेको बताइन्छ । अधिकांश ठूला कृषकले आफ्नै सवारीसाधनबाट पोखरालगायतका क्षेत्रका डेरी तथा सहकारीमा दूध बिक्री गर्ने गरेका छन् । गाउँपालिकाका सबै वडाबाट गरी सिधै वर्षमा २० लाख ८ हजार ५ सय लिटर दूध बिक्री हुने गरेको बताइन्छ । ‘गाउँपालिका दूध उत्पादनमा जिल्लामै पहिलो स्थानमा छ’, शाखा प्रमुख पौडेलले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारले उत्पादनका आधारमा दिने अनुदानले समेत वास्तविक कृषकले लाभ लिएका छन्, पशुपालन व्यवसाय राम्रोसँग फस्टाउँदै गएको छ ।’

गाउँपालिकामा हालसम्म गाई/भैंसी २ सय ७८, बाख्रा ९८ र कुखुराका ८९ फार्म दर्ता भएका छन् । गाउँपालिकाको पशु तथ्यांकमा गाई ४ हजार ३ सय ६५, भैंसी ६ हजार ६ सय ६६, भेडा २ हजार २ सय २४, बाख्रा ९ हजार १५, कुकुर ९ सय ९९ र बंगुर ३ सय ९७ रहेको पशु शाखाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले गाउँपालिका कृषिमा अग्रणी रहेकाले पशुपालन, दूग्ध व्यवसाय, कुखुरापालन, मत्स्यपालनलगायतका कृषि व्यवसाय व्यावसायिकरुपमा अघि बढाउन कार्यक्रम सञ्चालन भइरहेको बताए ।

दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भैंसी संरक्षण कार्यक्रम, १ वटा गाई/भैंसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको उनले जानकारी दिए । ‘पशुपालनमा जिल्लामै अग्रणी स्थानमा रहेका यहाँका कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, र यान्त्रिकीकरण गाउँपालिकाको प्राथमिकतामा छ’, उपाध्यक्ष दवाडीले बताउँछन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु १ करोड ५ लाख ७३ हजार ३ सय ७३ बजेट विनियोजन गरेको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.