www.tandavnews.com
Fact ~ In search of truth

१ करोड २० लाखको लगानीमा निर्माण गरिएको ‘लाईफ ईन एलए’ काे छायांकन पूरा

३० जना फिल्मकर्मीले पाए रोजगारी

ताण्डव

कोरोना भाईरसको कहरले फिल्म निर्माण कार्य ठप्प हुँदा फिल्मकर्मीहरु कामविहीन भईरहेका छन् । विषय परिस्थितिको समयमा पनि ‘लाईफ ईन एलए’ चलचित्र निर्माण कार्यले केही फिल्मकर्मीलाई रोजगार प्रदान गरेको छ ।

कामविहीन हुँदा कलाकार तथा फिल्मी क्षेत्रमा आबद्ध व्यक्तिहरु तनाव भएको महसुस गरी जोखिम मोलेर १ करोड २० लाख रुपैयाँ लगानी गरी चलचित्र निर्माण अघि बढाएको निर्माता तथा कलाकार ब्यास बिस्सुले बताए । फिल्मी क्षेत्रका लागि संसारकै प्रख्यात हलिउड रहेको लस एन्जलस सहरमा र नेपालमा गरी २ स्थानबाट चलचित्र छायांकन गरिएकोमा ३० जना फिल्मकर्मीले काम प्राप्त गरेको बिस्सु बताउँछन् ।

Batas

४ महिना अघि सुन्दर नगरी पोखरा, तनहुँका रमणीय स्थानहरु र अमेररिकाको विभिन्न सहरमा छायांकन सुरु गरी हालै पूरा भएकाे र हाल सम्पादनको काम भईरहेको निर्माता बिस्सु बताउँछन् । चलचित्रमा रहेको ‘पागल प्रेमी’ बोलको गीत प्रताप दास र कविता श्रेष्ठको आवाजको रहेको छ । गीत सोमबार काठमाडौंबाट सार्वजानिक गरिने बिसुले बताए । यसै गरी ‘उदाएर आफै तिमी’ बोलको प्रविसा अधिकारी र प्रताप दासको आवाजमा रहेको गीत पनि चाँडै नै सार्वजानिक गरिने निर्माता बिस्सुले बताउँछन् ।

नेपालीको ठूलो चाड दसैं र तिहारको समयमा दर्शक माझ ल्याउन लागिएको जानकारी निर्माण पक्षले दिएको छ । यस चलचित्रमा अमेरीकामा रहेका फिल्म क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको संलग्नतामा निर्माण गरिएको छ । लस एन्जलस र अमेरिकाका विभिन्न सहरमा मनोरन्जन र खेलकुद जस्ता कार्यक्रम गर्दै विगत १ दशकदेखि सक्रिय रहेका इन्जिनियर ब्यास बिस्सुले यस चलचित्रमा पहिलोपटक अभिनय गरेका छन् । त्यस्तै करिब १ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी बिस्सु नायक रहेको यस चलचित्रमा नायिकामा शिल्पा मास्के, अमेरिकाको न्यूजर्सी निवासी अकेशा बिष्टले अभिनय गरेका छन् ।

हलिउड चलचित्रका लागि प्रयासरत धेरै विदेशी कलाकारहरुको अभिनय चलचित्र समावेश गरिएको छ । चलचित्रका अन्य मुख्य कलाकारहरुमा सञ्चारकर्मी विष्णु गौतम, जेरेड बिलाप्स, आयुष केसी, प्रविन खत्री, जयन्द्र चिलुवाल, श्याम भुजेल छन् । लस एन्जलसमा रहेका सामाजिक अभियान्ताहरु अनिल केसी, उत्तम थापा, विशाल ढकाल, राजन अधिकारी, नलिना चित्रकार, नारायण खनाल, गोपाल योगी, गोकुल पौड्यालसहित धेरै जनाको अभिनय चलचित्रमा समावेश गरिएको छ । चलचित्रको कार्यकारी निर्मातामा संसार सुवेदी हुन् ।

हलिउडमै चलचित्र अध्ययन गरिरहेका सूर्य श्रेष्ठले चलचित्रको निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठले २००७ सालमै कान्तिपुर टेलिभिजनमा प्रसारित पपुलर टिभी सिरिएल ‘क्याफे कान्तिपुर’ सहित विभिन्न कार्यक्रमहरुको निर्देशन गरेका छन् । यसैगरी अमेरिकामै फिल्म क्षेत्रमा ग्र्याजुयट गरेका राजेन्द्र ठकुरी पनि यस चलचित्रको निर्माता छन् ।

ब्यास इन्टरटेन्टमेन्टको लगानी रहेको यस चलचित्रमा क्यामेरामा हलिवुडमा धेरै फिल्ममा छायांकन गरेका कृष वारेन रहेका छन् । चलचित्रका गीतहरुलाई हलिवुड क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जसवन्त श्रेठले निर्देशन गरेको ब्यास इन्टरटेन्टमेन्टले जनाएको छ ।

चलचित्र क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई मौका र प्रेरणा दिनका निमित्त साथै नेपाली चलचित्रलाई भोलिका दिनमा अमेरिकामा सहयोग गर्ने वातावरण सिर्जना गर्न चलचित्र निर्माण गरिएको बिस्सुको भनाई छ । छायांकनको ७० प्रतिशत काम अमेरिकामा र ३० प्रतिशत काम नेपालमा गरिएको निर्माता बिस्सु बताउँछन् । विदेशमा रहेका नेपालीले प्रतिष्ठित खालको काम गर्न पनि अब्बल छन् र जुन देशमा रहे पनि मातृभूमि नेपाललाई बिर्सन हुँदैन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा मद्दत गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न फिल्म निर्माण गरिएको निर्माता बिस्सुले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.