www.tandavnews.com
Fact ~ In search of truth

कृष्तिमा सहलगानी खानेपानी निर्माणमा ढिलाई हुँदा स्थानीय आक्रोशित, आयोजना भन्छ मंसिरसम्म म्याद छ

जीवन सुवेदी

पोखराको कृष्तिमा निर्माणाधिन सहलगानी खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।

खानेपानी ट्याङ्की निर्माणको काममा स्वेच्छाचारी गरेको र काम नै रोकेर ढिलासुस्ती गरेको भन्दै राजनीतिक दलका नेताहरुले समेत विरोध जनाएका छन् । नेकपा एमाले पोखरा २१ का अध्यक्ष कृष्णबहादुर थापा र नेपाली कांग्रेस वडा सभापति केबल गिरीले संयुक्त विज्ञप्ति जारी गर्दै डिपिजार बमोजिम ट्याङ्की निर्माण कार्य अगाडि नबढाएकोमा आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

Batas

‘वडा नं २१ बासी आम जनसमुदायको चाहना बमोजिम सञ्चालित भरतपोखरी, कृष्ति, निर्मलपोखरी सह–लगानी खानेपानी आयोजना पोखरा २१ र ३३ ले पोखरा २१ को साबिक नाच्नेचौर गाविसतर्फ हिमालय टोल विकास संस्था अन्तर्गत मेलडाँडामा डिपिआर बमोजिम खानेपानी ट्याङ्की निर्माण गर्ने कार्य अगाडि नबढाएकोमा पोखरा २१ का राजनितिक पार्टीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

स्थानीयहरुको भेलाले तत्काल निर्माण अघि बढाउन सुझाव दिँदासमेत स्वेच्छाचारी ढंगले निर्माणमा ढिलाई गरिनु दुखद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्माणमा भएको ढिलाईका कारण जनताहरु पानी पाउने अधिकारबाट बञ्चित भएको भन्दै विज्ञप्तिमा ‘खानेपानीको मूल समस्या समाधान गर्नका लागि जिम्मा लिएको सहयोग समितिले डिपिआर बमोजिमका ठाउँमा दवाडी निर्माण, पाइप लाइन बिस्तार कार्य अगाडि नबढाई विभिन्न बहानाबाजी गरेर काम रोकिरहनु घोर आपत्तिजनक छ ।’ भनिएको छ । साथै ट्याङ्की निर्माण सम्पन्न गरी खानेपानीको व्यवस्थापन सहज बनाउन माग गरिएको छ ।

कृष्तिको मेलडाँडामा १ लाख लिटरको पानी ट्याङ्की निर्माण गरि कृष्तितर्फको भूभागमा पाइपलाइनबाट पानी वितरण गर्ने निर्णय गर्दै काम अगाडि बढाउन गरिएको अनुरोधलाई हदैसम्म बेवास्ता गरेपछि विज्ञप्ति जारी गर्न बाध्य भएको एमाले पोखरा २१ सचिव राजेन्द्र थापाले ताण्डव न्युजलाई बताए । ‘हामीले बारम्बार भन्दा पनि विभिन्न बहानामा काम नगर्ने ?’ उनले भने, ‘कामलाई व्यवस्थित तरिकाले अगाडि नबढाएपछि हामी मिडियामा जान बाध्य भयौं ।’

काम रोकिएको छैनः अध्यक्ष आचार्य

यस विषयमा सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले भने विज्ञप्ति जारी गर्नेहरुले विकास निर्माणको चाहना नै नराखेको आरोप लगाए । ‘जसले विज्ञिप्ति निकाले उनीहरु विकास नचाहने मान्छे हुन्,’ आचार्यले भने, ‘काममा ढिलाई भएको छैन, काम चलिरहेको छ ।’ आयोजनाको अन्तिम म्याद मंसिरसम्म रहेको भन्दै अध्यक्ष आचार्यले मंसिरसम्म पनि निर्माण पूरा नभए जरिवाना तिर्नुपर्ने बताए । ‘कसले भन्यो ढिलो भयो भनेर ? आयोजनाको म्याद थप भएर आएको छ,’ उनले भने मंसिरसम्म सक्नुपर्छ, नत्र पेनाल्टी लाग्छ ।’

उक्त आयोजनामा स्थानीय तह र प्रदेशको भूमिका नभएको बताउँदै उनले संघ सरकारलेनै ठेकेदार चयन गरेको र उनीहरुमार्फत नै काम भइरहेको बताए । मृत सञ्जीवनी प्रालि र केएम कन्ट्रक्सन कम्पनीले उक्त आयोजनाको काम गरिरहेको आचार्यले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.