www.tandavnews.com
Fact ~ In search of truth

१४ औँ महाधिवेशनका लागि कांग्रेसले ३८ जिल्लामा खटायो निर्वाचत अधिकृत

रासस

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको थियो ।

क्रियाशील सदस्यताको सूची प्राप्त गरेसँगै निर्वाचन समितिले पार्टी निकट मानिने डिएलएसम्बद्ध कानुन व्यवसायीमध्येबाट आज जिल्ला निर्वाचन अधिकृत खटाएको समिति संयोजक महादेवप्रसाद यादवले बताए । जिल्ला निर्वाचन अधिकृतले यही भदौ १८ गते हुने गाउँ, नगर, वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म निर्वाचन प्रक्रियाका काम गर्नेछ ।

Batas

निर्वाचन अधिकृतले सम्बन्धित जिल्लाका पार्टी सभापति, पार्टीका वर्गीय संगठन र शिक्षक संघसँग समन्वय गरी वडास्तरसम्म निर्वाचन अधिकृत तोक्ने उनले बताए । प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत पछि खटाइनेछ । क्रियाशील सदस्यताको बाँकी सूची समितिलाई शनिबार र आइतबारसम्म प्राप्त हुने बताइएको छ । बाँकी जिल्लामा क्रियाशील सदस्यताको सूचीसँगै निर्वाचन अधिकृत पनि खटाइने समितिले जनाएको छ । प्राप्त भएको क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयको वेभसाइटसमेतमा सार्वजनिक गरिएको संयोजक यादवले जानकारी दिएका छन् ।

समितिले स्थल र हवाई यातायातमार्फत क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्लामा पठाउन सुरु गरिसकेको जनाएको छ ।

निर्वाचन अधिकृत खटाएसँगै भदौ १८ गते तोकिएको वडाअधिवेशनका लागि नेता कार्यकर्ता जिल्ला र गाउँ फर्किन सुरु भएको छ । नविकरण र नयाँ गरी करिब ९ लाखको संख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ, नगर, वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने पार्टीको विधानमा उल्लेख छ ।

काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ, नगर, वडाअधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

कांग्रेसले विधानमा टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको गरी ८ तहगत संरचनाको व्यवस्था गरेको छ । पार्टीभित्र ८ तहगत निर्वाचन हुने यस्तो संरचना बनाउने कांग्रेस मुलुकको पहिलोपार्टी बनेको छ । पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमिति १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री, १ कोषाध्यक्ष र बाँकी सदस्य गरी कुल १ सय ६८ सदस्यीय हुनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.