www.tandavnews.com
Fact ~ In search of truth

विकास के हो ?

खगराज आचार्य

विकास गतिशिल प्रक्रिया हो, जसरी मानवजाति आदिम मानिसबाट विकसित मानिसमा प्रवेश गर्यो । विकास मानिसको सीप र श्रमसहित प्राकृतिक स्रोतसाधनको प्रयोगले हुँदै जाने हो । प्राकृतिक स्रोतसाधनलाई प्रयोग ल्याउँदा जति राम्रो र गुणस्तरयुक्त उच्च प्रविधिको प्रयोग गर्न सक्यो त्यति नै विकास हुँदै जाने हो ।

अर्थशास्त्रका पिता एडम स्मिथको खुल्ला अर्थशास्त्रीय अवधारणाले पनि आर्थिक समुन्नतिलाई नै विकासको मुल आधार बनाएका छन् । कार्ल माक्सले त वर्ग संघर्षको प्रतिफल र श्रमिक वर्गको हकहित र उन्नतिको स्वरुपलाई नै वास्तविक विकास भनेका छन् । अर्थशास्त्रीय अवधारणाअनुसार विकास भन्नाले कुल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आयमा बृद्धिलाई विकास भन्ने गरिन्छ । समाजशास्त्रोय अवधारणाअनुसार आर्थिक बृद्धिका साथसाथै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतामा जोड दिएको पाइन्छ ।

Batas

सामान्य अर्थमा विकास भनेको समयसँगै अनुकूल रुपान्तरण हुनु हो । यसले पुरानो बुझाई, विशेषता र मनोविज्ञानलाई पनि रुपान्तरण गर्छ । यसभित्र भौतिक पूर्वाधार विकास, प्राविधिक विकास, सामाजिक विकास, आर्थिक विकास, संस्थागत विकास, भाषिक विकास, सांस्कृतिक विकास, बौद्धिक विकास, मनोवैज्ञानिक विकास, स्वास्थ्य, शिक्षा, विधिको शासन गर्ने प्रणालीमा विकास, कूटनीतिक सम्बन्धमा हुने विकास र सोच, चिन्तन, व्यवहार, छ्यमता, खुबी यावत् विषयमा हुने विकास पनि पर्छन् ।

भौतिक संरचना निर्माणमात्र नभएर समाजभित्र रहेको समुदायको समानुपातिक विकास र उनीहरुको स्वस्थ जीवनसँग जोडिएको अर्थराजनीतिक विषस पनि हो ।

विकास भूगोल अनुसार फरकफरक हुन्छ । यसका लागि चीन, अमेरिका, भारत, सिंगो युरोप र अफ्रिकी मुलुकहरुमा भएको विकासलाई हेर्न सकिन्छ । प्रथम विश्व युद्ध पहिलाको विकास, दोस्रो विश्व युद्धपछिको विकासलाई पनि हेर्न सकिन्छ । नेपालको सन्दर्भमा मूलतः विसं २००७ सालको राजनीतिक परिवर्तनदेखि २०१५ सालसम्मको अवधि, २०१५ सालपछि २०१७ सालसम्मको अवधि, २०१७ सालदेखि २०४७ सालसम्मको अवधि, २०४७ साल देखि ०६२/०६३ सम्मको अवधि, ०६३ देखि २०७२ सालसम्मको अवधि र २०७२ सालदेखि हालसम्मको विकासको कालखण्डलाई लिन सकिन्छ ।

विकासका धेरै परिभाषा फेरिएका छन् । विसं २०१३ सालदेखि विकासका लागि पञ्च वर्षीय योजनाको अवधारणा पनि हाम्रो अध्ययनको विषय छ नै । हाल जारी भएको नयाँ नेपालको नयाँ संविधानमा ३ तहको सरकार, ३ नै तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था गरी अधिकारको सुनिश्चितता गरिएको छ । यदि आ–आफ्ना अधिकारहरुलाई अक्षरस पालना गरेमा भूइँबाटै विकास गर्न सक्ने वातावरण बनेको छ । यी सबै अध्ययनबाट हामी के निष्कर्षमा पुग्न सक्छाैं भने विकास भनेको भौतिक संरचना निर्माणमात्र नभएर समाजभित्र रहेको समुदायको समानुपातिक विकास र उनीहरुको स्वस्थ जीवनसँग जोडिएको अर्थराजनीतिक विषस पनि हो ।

अतः विकास भनेको बहुआयामिक पक्ष हो । उत्पादन र उत्पादकत्व, न्यायपूर्ण वितरण, स्रोत र साधनको दिगो प्रयोग र मानिसलाई खुसी बनाउनु नै यसको मुख्य पक्ष हो । यी बहुआयामिक पक्षहरुलाई सञ्चालन गर्न आजको विश्वले २ वटा बाटो रोजेको छ । १. पूँजीवादी तथा उदारवादी विकास र २. समाजवादी विकास ।

हामीले समाजवादप्रति प्रतिवद्ध रही संमृद्ध राष्ट्र निर्माण गर्ने भनेर संविधानमा लेखेका छौ । समाजवादमा पुग्न आदिम साम्यवाद, दास युग, सामान्तवादी युग, पूँजीवादी युग पार गरेर बल्ल समाजवादी युगमा प्रवेश गर्ने हो ।

नेपाल भर्खरमात्र पुँजीवादी युगमा प्रवेश गरेको छ । अबको राजनीतिक लडाई पूँजी निर्माण कसरी गर्ने हुनुपर्छ । यसका लागि पूँजी निर्माणमा उत्पादन र उत्पादकत्व, न्यायपूर्ण वितरण, स्रोतसाधनको दिगो प्रयोग आदिलाई गहिरो गरी ध्यान दिनु र प्रयोग गर्नुपर्छ । नेपालमा राजनीतिका २ धारहरु छन् । पूँजीवादी धार र समाजवादी धार । नेपाली कांग्रेसले निजी स्वामित्वको र खुल्ला बजारको कुरा गर्छ । कम्युनिष्टहरु जग्गाको स्वामित्व राज्यमा आउनुपर्ने र उत्पादनका साधन राज्यबाट नियन्त्रण गर्नुपर्छ भन्छन् । बल्ल पूँजीवादी युगमा प्रवेश गरेको मुलुक छ ।

समाजवादप्रति प्रतिवद्ध भनेर संविधानमा लेखिए पनि समाजवादमा जाने बाटो फरकफरक हो भन्छन् र यी २ धारबिच ठूलो राजनीतिक लडाइ हुन्छ । त्यो हुनै बाँकी छ । त्यसमा अन्तर्राष्ट्रिय शक्ति लाग्छ नै । राजनीतिक स्थायित्व छैन । गुणस्तरिय सीप भएका व्यक्ति ज्यादै न्यून छन् । प्राविधिक कम छन् । सोत र साधन कम छ । विधिको शासन होइन व्यक्तिको शासन अझै कायम भएर भ्रष्टाचार बढेको छ । श्रम गर्ने संस्कृतिको रास हुँदै गएको छ ।

नेपाल गाउँ नै गाउँले भरिएको अनि कृषि अर्थतन्त्र भएको देश हो । कृषि क्रान्ति गरेर बिस्तारै औद्योगिकीकरण गर्दै ग्रामिण क्षेत्रलाई समेत सहरीकरण गर्दै लानुपर्नेमा सहरको ग्रामिणिकरण भएको छ । गाउँमा विकास नहुँदा सहरतिर मानिसको बसाँइसराँइ बडेको छ । गाउँको गरिबी र संस्कार सहरतिर आएको छ । जसको कारण कृषि क्षेत्र बाँझो छ भने गाउँको श्रम शक्ति सहर र विदेश गएकोले कृषिका लागि आवश्यक श्रम शक्ति पनि गाउँमा छैनन् । गाउँमा रणनीतिक सडक छैन । अर्बान (सहर) रुलर (ग्रामिण) लिक रोड छैन । जसको कारण सहर र गाउँ जोडिएको छैन । गाउँमा उत्पादित सामान बेच्न पाइरहेका छैनन् ।

त्यस्तै खानेपानी, बिजुली, स्वास्थ, शिक्षा छैन अतः यो क्रम अझै जारी रहने स्थितिमा छ । यदि साँच्चिकै विकास गरेर समाजवादतर्फ जाने बाटो तय गर्ने हो भने हालसम्म नेपालले अबलम्बन गरेका विकासका तौर तरिका, अन्तर्राष्ट्रिय विकासका तौरतरिका, छिमेकि राष्ट्रले गरेको विकासको तौरतरिका अवलम्बन गर्नुपर्छ । हाम्रो भूगोल, जनसंख्या र प्राथमिकतालाई मसिनो गरी अध्ययन गर्न विज्ञहरुको रायसल्लाह लिएर देशको समग्र विकासको योजना र साधनस्रोतको प्रयोगका लागि राष्ट्रिय नीति आवश्यक छ ।
                                                                                                 आचार्य पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.